ट्रम्पको आदेशविरुद्ध अदालत जाने एप्पलको चेतावनी



वासिङ्टन, (एजेन्सी)
एप्पलका सीईओ टिम कुकले डोनाल्ड ट्रम्पको आप्रवासी नीतिमाथि प्रश्न उठाएका छन्। कुकले उक्त नीतिले आफ्ना कामदारहरूलाई असर पारेको बताउँदै ह्वाइट हाउसले त्यसलाई फिर्ता गर्नुपर्ने बताएका छन्।

उनले भने– ‘ट्रम्पको कार्यकारी आदेश लागू भएपछि हाम्रा कामदारलाई नराम्रो असर परिरहेको छ। म यसको विरुद्ध कानुनी उपचारमा जाने विचार गरिरहेको छु।’ यसअघि गुगलका सीईओ सुन्दर पिचाइले पनि ट्रम्पको आदेशको आलोचना गरेका थिए।
वालस्ट्रिट जनरलका अनुसार कुकले भने– ‘ह्वाइट हाउसले उक्त आदेश फिर्ता लिनेछ भन्ने मेरो अपेक्षा रहेको छ। तर त्यस्तो नभएमा हाम्रो कम्पनी यसको विरोधमा अदालतमा जानेछ।’ उनले यस विषयमा ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूसँग कुरा पनि गरिसकेको जानकारी दिए। तर उनले कुन अधिकारीसँग कुरा गरेको भन्ने विषयमा प्रस्ट पारेका छैनन्।

ट्रम्पले डिसेम्बरमा कुकसहित केही टेक कम्पनीका नेताहरूलाई आफूले उनीहरूसँग निजी टेलिफोनमा कुरा गर्ने बताएका थिए। कुकका अनुसार ‘कुनै अन्य देशको तुलनामा हाम्रो देश त्यसैले मजबुत छ, किनभने हामीलाई आप्रवासीको सहयोग छ। यो हाम्रो क्षमता र दक्षता नै हो कि हामी विश्वभरिबाट आउनेलाई हृदयदेखि स्वागत गर्छौं। यसैले हामीलाई विशेष बनाउँछ।’

यसलाई रोक्ने नियमलाई विराम लगाउनुपर्ने र त्यसमा गम्भीरतापूर्वक सोच्नुपर्ने उनले थपे। आफ्ना कामदारहरू नयाँ आप्रवासी आदेशलाई लिएर डराइरहेको र आफूलाई लगातार इमेल पठाइरहेको कुकले बताए।

माइक्रोसफ्ट, अमेजन र एक्सपिडिया जस्ता कम्पनीले उक्त आदेश फिर्ता हुनुपर्ने माग गर्दै वासिंगटन महान्यायधिवक्ताविरुद्ध मुद्दा दायर गरेका छन्। गुगलले त उक्त निशेषको विरुद्ध लड्न एउटा कोष नै घोषणा गरेका छन्। त्यसै गरी नेटफ्लिक्सका सीईओ रिड हेस्टिंगले आदेशलाई गैरअमेरिकी बताउँदै सबैलाई दुःख दिने खालको भएको प्रतिक्रिया दिएका थिए। एप्पललगायत ती सबै ठूला टेक्नोलोजी कम्पनीहरूमा मुस्लिम देशहरूबाट थुप्रैले काम गर्छन्।

ट्रम्पले आफू राष्ट्रपति भएलगत्तै ७ वटा मुस्लिम देश इराक, इरान, सुडान, सिरिया, लिबिया, सोमालिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा ९० दिनसम्मका लागि रोक लगाएको घोषणा गरेका थिए। त्यसै गरी १ सय २० दिनसम्म शरणार्थीमाथि पनि निषेध लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस्