थुमनमा पर्यटकको आगमन बढ्यो



नेपाल समाचारपत्र
रसुवा
रसुवाको थुमन–४ का फुर्पु ग्याम्जो तामाङले कृषि पेशा छाडेर होटल व्यवसाय गर्न थाल्नु भएको १५ वर्ष भयो। शुरूमा होमस्टेबाट व्यवसाय शुरू गर्नु भएका तामाङले पर्यटकको आगमन बढ्न थालेपछि होटल नै सञ्चालनमा ल्याउनु भएको थियो। पहिले थुमनमा होमस्टे पनि कम थियो। साधारण होमस्टेमा पनि पर्यटक खचाखच हुन थालेपछि होटलको आवश्यकता देखेर तामाङले होटल सञ्चालनमा ल्याउनुभएको हो।

भूकम्प जानुभन्दा पहिले थुमनमा एक सिजनमा करिब एक हजारको हाराहारीमा पर्यटक जाने गरेका थिए। तर, भूकम्प गएको एक वर्षसम्म शून्य अवस्थामा पुगेको पर्यटन व्यवसाय अहिले विस्तारै तङगिँ्रदै गएको छ।

जिल्लाको उत्तरी भागमा पर्ने थुमनमा काठले बनेका घर भएकाले भूकम्पले पनि धेरैजसो घरमा क्षति पुगेन। अलिअलि क्षति भएका घर पनि स्थानीयले पहिलो किस्ता पाउनुभन्दा अघि नै निर्माण गरिसकेका छन्। थुमन गाउँमा ढुंगाको सुख्खा गारो लगाइएका घरमा क्षति पुगे पनि काठबाट बनाइएका होटल भने भत्किएको थिएनन्।

भूकम्प अघि राम्रै आम्दानी गरेका व्यवसायीको भूकम्पपछि भने आम्दानी पनि घटेको छ। भूकम्प अघि वार्षिक करिब १५ लाख रुपियाँ आम्दानी हुने गरेको भए पनि भूकम्पपछि पर्यटक घटेपछि आम्दानी पनि घटेको ८ वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएकी थुमन–४ की होटल व्यवसायी पेमा लामा तामाङले बताउनुभयो।

थुमन– १ की होटल व्यवसायी पेम्वा याङजेन तामाङ प्रचारप्रसारको अभावमा पर्यटनको आगमन घटेको बताउनुहुन्छ। पर्यटन विभागले तामाङ सम्पदा मार्गमा सञ्चालित होटल अनि पदमार्ग नभत्किएको सन्देश विश्व सामु पुर्याउन सके पर्यटन व्यवसाय पहिलेकै अवस्थामा फर्किने तामाङले बताउनुभयो।

थुमनमा अहिले १५ वटा ठूला होटल र तीन वटा होमस्टे सञ्चालनमा रहेका छन्। पर्यटकीय क्षेत्र थुमन अहिलेसम्म पनि सडक सञ्जालसँग जोडिन सकेको छैन। सदरमुकाम धुन्चेबाट करिब एक घण्टाको सडक यातायात पश्चात स्याफ्रु पुगिन्छ।

स्याफ्रुबाट करिब ४ घण्टाको उकालो चडेपछि थुमन पुग्न सकिन्छ। सडक सञ्जालले नजोडिँदा त्यस क्षेत्रमा सञ्चालित होटलका लागि आवश्यक पर्ने सामग्री लैजान कठिनाइ हुने गरेको छ। भूकम्प अघि भरिया पाउने भए पनि भूकम्पपछि रसुवागढी नाका सञ्चालनमा आएपछि भरियाहरू पनि रसुवागढी नाकातिर कामका लागि गएपछि सामग्री लैजान समस्या हुने गरेको होटल व्यवसायी पेम्वा याङजेन तामाङको भनाइ छ।‘सामान ल्याउन भरिया नै पाइँदैन बल्लवल्ल पाए पनि किलोको २५ रुपियाँ भन्छन् सामान ल्याउन सके त होटल राम्रै चल्ने थियो’ तामाङले भन्नुभयो।

पर्यटकीय क्षेत्र थुमनमा अहिले पनि परम्परागत रूपमा काठबाट बनेका घर देखिन्छ। काठबाट बनेका बुट्टादार झ्याल ढोका, काठको गारो अनि काठको छाना लगाएर घर निर्माण भएको देखिन्छ। १२ वर्ष पहिले निर्माण गरिएका माटोबाट बनाइएको बुद्धका मूर्ति रहेको छ।

भूकम्प अघि पाङलिङले छाना छाउने भएपनि अहिले भने गाउँमा जस्तापाताको प्रयोग हुन थालेको छ। गाउँमा गएका पर्यटकलाई स्थानीय बासिन्दाले आफ्नो सँस्कृतिले स्वागत गर्ने गरेका छन्। बेलुकी थुमनबासीले परम्परागत नाच देखाएर मनोरञ्जन दिने गरेका छन्। थुमन गाउँबाट लाङटाङ हिमाल, गणेश हिमाललगायतका हिमाल पनि देख्न सकिन्छ।

गाउँबाट एक घण्टाको उकालो चढेपछि नागथली उपत्यका पुग्न सकिन्छ छ। नागथलीबाट लाङटाङ, गोसाइकुण्ड, तिब्बतमा रहेको सिसापाङमा हिमाल देखिने हुँदा पनि त्यस क्षेत्रमा पर्यटक पुग्ने गरेका छन्।

नागथलीभन्दा केही माथि पर्ने तारुचे भ्यु प्वाइन्टबाट तिब्बतका गाउँ समेत देख्न सकिन्छ। थुमनमा मार्च महिनादेखि मे महिनासम्म र सेप्टेम्बरदेखि नोभेम्बर महिना गरी दुई सिजनमा पर्यटक जाने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्