विनयको कविता ‘मृत्युबोध’



ज्ञानमणि नेपाल कालोटोपी
हरेक क्षणहरूको बोध त्यति बेला हुन्छ, जति बेला उसले उक्त परिदृश्य भोगेको हुन्छ । तर मृत्यु, जसलाई भोग्ने मान्छेले यो कस्तो हुन्छ भनेर अनुभव गर्न सक्दैन । अरु घटनाक्रमहरूको भोगाइ जति बेला पनि हुन सक्छ । पटक–पटक हुन सक्छ तर मृत्यु एकपटक मात्र हुन्छ । तर साहित्यकारहरू मृत्यु र जन्मका भोगाइलाई पनि उस्तै तरिकाले प्रस्तुत गर्छन्, मानौं उनीहरूले सबै भोगेकै पो छन् कि जसरी । हो, यस्तै अनुभव समेटेर साहित्यकार विनयकुमार शर्मा नेपाल यस पटक मृत्युबोध कविता संग्रह लिएर साहित्यमा उदाएका छन् ।

करिब ४ दर्जन सफल कृतिहरू प्रकाशित गरिसकेका उनले यस पटक भने नयाँ खालको उपहार दिएका छन् । मृत्युबोध कविता संग्रहमा ४१ वटा कविता समेटिएका छन् । सबै कविताले फरक–फरक क्षणको अनुभव गराउँछन् । मान्छेको जीवन र मृत्यु, अनि यी दुवैका बीचमा मान्छेले गर्ने विभिन्न प्रकारका अनुभूतिहरूलाई कविताको रुप दिएर त्यसलाई पुस्तकको आकारमा प्रस्तुत गर्न सक्नु साहित्यकार नेपालको खूबी हो । मान्छे के हो ? ऊ जीवनमा सफल र असल कसरी बन्न सक्छ ? भन्ने भाव समेटिएको यो कविता संग्रहले मान्छे भएर मान्छेले मान्छेका लागि के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने कुरा सिकाउन खोजेको छ ।
उनले जीवनमा मान्छेले कहिले जित्छ, कहिले हार्छ, सधैँ एउटै र उस्तै परिवेश हुँदैन भनेर पनि देखाउन खोजेका छन् । जित्ने मान्छेले घमण्ड गर्नुहुँदैन र हार्ने मान्छेले रुँदै हिँड्नु पनि हुँदैन । माथिको कविताको सार हो । कविले यसलाई निकै मार्मिक पारामा प्रस्तुत गरेका छन् । मान्छेले हरेक क्षण नयाँ बनाउन प्रयास गर्छ । तर जति नयाँ बनाए पनि बिस्तारै त्यो क्षण पुरानो हुन्छ । नयाँ र पुरानो भन्ने कुरा अनुभवले हुने हो । मान्छेको बाँच्ने तरिका र कर्मले उसलाई चिनाउन सक्छ । जन्मदै कोही विशेष मान्छे हँुदैन र विशेष भनिएकाहरू पनि सधैँका लागि हुँदैनन् । कुनै निश्चित समय पछि युगले आफैं नयाँ कुराको माग गर्छ भन्ने कुरा पनि कवितामार्फत पाठकलाई देखाउनु कवि नेपालको उद्देश्य हो ।

समग्रमा कविता सरल छ, सरस छ र बुझ्न सकिने शैलीमा लेखिएको छ । शब्दार्थ प्रकाशनले बजारमा ल्याएको यस संग्रहको मूल्य रु. २५० राखिएको छ । यो फरक शैलीको प्रस्तुति हुने प्रकाशकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्