अन्धकारको यात्री पुरुषोत्तम



किरण श्रेष्ठ
पुरुषोत्तम दाहाल चिनाउनुपर्ने नाम होइन । सञ्चारकर्मीमा आफ्नोपन बनाइसकेका मानवअधिकारकर्मीका रुपमा पनि सुपरिचित यिनी साहित्यिक व्यक्तित्वका रुपमा समेत नाम बनाइसकेका व्यक्ति हुन् । निबन्ध, उपन्यास र कविता विधामा देखिँदै आएका यिनका हालै ‘अन्धकारको यात्री’ कवितासङ्ग्रह प्रकाशित छन् । अन्य विधामा भन्दा बढी यिनी कवितामा बढी वजनदार देखिँदा छन् । यिनका कविताहरूमा नेपालको राजनीतिक विषमताले देशमा निकास नखुलेको, जनताको दिन नआएको सन्दर्भमा कवितामा लेख्छन्–
जनताः जग्गा जमिन हो ।
भोगचलन गरिन्छ,
खेती गरिन्छ र किनबेच हुने गर्छ
जनताः ऋण लिन राखिएको धितो हो
बेला–कुबेलामा लिलामीमा चढ्ने गर्छ ।
युगीनता र समसामयिकतालाई समेट्न खोज्नु कविको मर्म र कर्म दुवै हुन् । कवितामा मावनीय मूल्य र परिवर्तनको चाहना गर्नु परिवर्तनकामी कविको चेतना र दृष्टि हो । परिवेशमा देखेको कुरा प्रस्ट लेखिदिनु, अप्ठ्यारो कुनियतपूर्ण कार्यहरूको विरुद्धमा आवाज उराल्नु कविको परिचय मानिन्छ । यही धर्म र कर्म पुरुषोत्तम दाहालले आफ्ना कविताहरूमा व्यक्त गर्न खोजेका छन् । कवि दाहालले आफ्ना कविताहरूमार्फत उज्यालोको खोजी गर्ने प्रयत्न गरेका छन् । युगीन यथार्थलाई समेट्ने प्रयास भएको ‘अन्धकारको यात्री’ मा धेरैजसो कवितामा उज्यालोको आभास दिन खोजेका छन् ।

प्रस्तुत कवितासङ्ग्रह ‘अन्धकारको यात्री’मा जम्मा ३० वटा कविता समेटिएका छन् । ‘हामी नदी झोलेहरू’ देखि ‘आजको जनता’का कविताका भाखा र भाव–दृष्टिहरूमा आफूले अनुभूत गरेका प्रसङ्गहरूलाई कवितात्मक भाषामा व्यक्त गर्न प्रयत्न गरेका छन् । आफू बाँचेको समाजमा जे–जस्तो देख्छन् अक्सरतया कवि–लेखकहरू त्यही व्यक्त गर्न खोज्छन्, यस कवितासङ्ग्रहमा पनि कवि दाहालले आफूले देखेका प्रसङ्गहरूलाई इमानदारीतापूर्वक कवितामा भाव–दृष्टि लेखेका छन् ।

कविता लेख्नेहरू धेरै छन्, अझ भनौं कविहरू बन्न खोज्नेहरू अनगिन्ती छन् । सबभन्दा बढी पनि कविता नै लेख्नेहरू छन् । यही हुलमा पुरुषोत्तम दाहाल पनि देखा परेका छन् । विचारमा सुस्पष्टता, शैलीमा माधुर्यताको समन्वय भएपछि मात्र कवितामा सुन्दरता थपिँदै जान्छ । भाषा, शब्द–शैलीमा ख्याल गर्दै जानुपर्छ अनि मात्र रचनाको शक्ति बढ्दै जाने हो । कवि दाहालले पनि यस सत्यलाई अवश्य आत्मसात् गर्नुहुनेछ । यसमा प्रकाशित सबै कविताहरू उच्चकोटीका देखिँदा नभए पनि केही कविताहरू उच्चकोटीका र शक्तिशाली छन् । ‘हामी नदी झोलेहरू’मा नेपाली जनमनका पीडाहरू यसरी व्यक्त गर्छन् कविले कवितामा–
नुन पिएर तिर्खा मेट्न आतुर छ
हो, हामी नदी झोलेहरू मरिरहेछौं र मरिरहनेछौं
अन्तध्र्वंसलाई शिर झुकाएर स्वीकार गरिरहेछौं ।
जे भए पनि कविहरूको हुलमा थपिन आएका छन् एकजना कवि, जो स्फूर्ति फुकाएर ‘अन्धकारको यात्री’ भएर उज्यालोको खोजीमा आएका छन् । कविताको यात्रामा सफलता मिलोस्– शुभकामना भनिरहेछु ।

प्रतिक्रिया दिनुहोस्