अझै हजारौं मेगावाट विद्युत् नेपालमै खपत हुन्छः प्रम



चिरन्जीवी मास्के, दोलखा
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आर्थिक समृद्धिलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै आफू सरकारको नेतृत्वमा आएपछि हिमाल, पहाड र तराईलाई जोड्ने, राष्ट्रिय एकता कायम गर्ने र विकास आयोजनाहरू समयमै सम्पन्न गर्न अनुगमन र निरीक्षणमा गर्दै आएको बताउनु भएको छ।
बिहीबार खिम्तीस्थित खिम्ती–ढल्केबर २२० प्रसारणलाइनका उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो– ‘नेपालकै पहिलोपटक २२० केभी प्रसारण लाइनको उद्घाटन गर्न पाउँदा हर्ष र गर्वको महशुस भएको छ। ४ सय केभी प्रसारण लाइनको काम पनि अघि बढिरहेको छ। तर, २२० केभी हामीले सञ्चालनमा ल्याइसकेका छौं, यो हाम्रा लागि महत्त्वपूर्ण विषय हो।’ प्रधानमन्त्री दाहालले आगामी जेठ महिनाभित्र देशलाई लोडसेडिङमुक्त गराउने दाबीसमेत गर्नुभएको छ। उहाँले नेपालकै ठूलो प्रसारणलाइन बनेकाले अब देश लोडसेडिङमुक्त हुने बताउनुभएको हो।

त्यसक्रममा प्रधानमन्त्रीले प्रसारणलाइनको अभावमा थुप्रै आयोजना रोकिएका वा सम्भाव्यता अध्ययन नै नभएका अनुभव रहेको उल्लेख गर्दै विद्युतीकरण नै नेपालको आर्थिक विकास, औद्योगिकरण र आर्थिक समृद्धिको आधार हो। प्रकृतिले हामीलाई ठूलै बरदान नै दिएको बताउनुभयो। उहाँले विद्युतीकरणले नेपालको भविष्यमै कायापलट ल्याउन सक्छ। विद्युत् उत्पादन गरे त्यसको खपत नेपालमै हुन्छ। विद्युत्को बजार छैन भनेर उत्पादनमा ध्यान नदिने सोच परम्परावादी र रुढीवादी सोच हो, अझै हजारौं मेगावाट विद्युत् नेपालमै खपत हुन सक्ने प्रधानमन्त्रीले बताउनुभयो। उहाँले भारतले किन्दैन भनेर विद्युत ्उत्पादननै नगर्ने कुरा जायज नभएको बताउनुभयो। नेपालमा उत्पादन हुने हजारौं मेगावाट विद्युत् नेपालमै खपत हुन्छ, भारतले किन्दैन भनेर विद्युत् उत्पादन रोक्न जरुरी छैन भन्नुभयो।

लोडसेडिङ अन्त्य गर्न, विद्युत् क्षेत्रका समस्या समाधान गर्न सरकार सधैं तयार रहेको भन्दै प्रधनमन्त्रीले भन्नुभयो–‘मैले आर्थिक क्रान्तिको सपना देखेको छु। राजनीतिक एकता कायम गर्न सक्यौं भने हामीले आर्थिक क्षेत्रमा चमत्कार गर्न सक्छौं। त्यसका लागि राजनीतिक तहमा नयाँ संकल्प आवश्यक छ, म सबैमा अपील गर्न चाहन्छु।’

विकास आयोजना समयमा पूरा नहुनु निकै दुःखलाग्दो विषय रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले निहित स्वार्थवस कतिपय आयोजना जानीबुझी ढिलो गराइने गरेका हुँदा यसलाई बदल्न हामी सबैले संकल्प गरौं भन्नुभयो। उहाँले समयभन्दा अघि काम सम्पन्न गर्नेलाई पुरस्कारको व्यवस्था गरेको छु, समयमा काम नगर्ने लाई दण्डित गर्ने घोषणा गरेको बताउनुभयो।

कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाल अभियानले जनतामा उत्साह भरेको बताउनुभयो। मन्त्री शर्माले भन्नुभयो–‘प्रधानमन्त्रीज्यूको निर्देशनमा उज्यालो नेपाल अभियान चलाइएको छ। यसको विकास र समृद्धिमा दूरगामी महत्त्व छ। उज्यालो नेपाल अभियान जनतामा उत्साह भर्ने अभियान हो। यो राष्ट्र निर्माणको अभियान हो, गरे सकिन्छ भन्ने सन्देश पनि यसले दिएको छ। हाम्रो सहकार्यले सकारात्मक परिणाम दिएको छ।’ उहाँले जलविद्युत् विकासमा केही चुनौती रहेको उल्लेख गर्दैे विद्युत आयोजनाहरू ढिला शुरू हुने र ढिला सम्पन्न हुने गरेको बताउनुभयो। उहाँँे तामाकोसी–३ र सुनकोसी–३ जलविद्युत् आयोजना छिट्टै शुरू हुने जानकारी दिनुभयो।

त्यस्तै अहिलेसम्म १३२ केभी प्रसारण लाइनमात्रै सञ्चालन हुँदै आएकोमा नेपालमा पहिलोपटक २२० केभीको प्रसारण लाइन सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो। प्रबन्ध निर्देशक घिसिङले २०६२ सालमा प्रारम्भ भएको आयोजना ११ वर्षपछि सम्पन्न भएको जानकारी दिँदै आयोजना सम्पन्न गर्न १ अर्ब ९५ करोड रुपियाँ लगानी भएको बताउनुभयो। उक्त आयोजनामा विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानी रहेको र खिम्ती–ढल्केबर प्रसारणलाइनको सञ्चालनपछि काठमाडौं र पोखराको विद्युत्मा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।

प्रसारण लाइन निर्माणका निम्ति विश्व बैंकले ६७ करोड ५० लाख रुपियाँ सहुलियत ऋण र ३७ करोड ५० लाख अनुदान सहयोग गरेको छ। त्यस्तै नेपाल सरकारले ६८ करोड २५ लाख ३३ हजार र विद्युत् प्राधिकरणले २२ करोड २० लाख ७५ हजार रुपियाँ ब्यहोरेको थियो। १८८ वटा पोल गाडिएको उक्त प्रसारणलाइन निर्माणका लागि १०२ रोपनी जमिन अधिग्रहण गरिएको छ। ७४ किलोमिटर लामो उक्त प्रसारण लाइनबाट ७ सय मेगावाट बिजुली ल्याउन लैजान मिल्छ। अहिलेसम्म निर्यात गर्न पुग्ने गरी नेपालमा बिजुली उत्पादन भइनसकेको हुँदा आयात गर्ने सर्किट मात्र निर्माण पूरा भएको छ। उक्त सर्किटबाट ३५० मेगावाट बिजुली तराईबाट पहाड ल्यामउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्