न्यु डायमन्डले चुम्यो उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
आयोजक शसस्त्र प्रहरीको एपीएफ क्लबमाथि संघर्षरत जित दर्ता गरेर न्यु डायमन्ड एकेडेमीले चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा भएको फाइनल प्रतिस्पर्धामा न्यु डायमन्डले एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा न्यु डायमन्डले पहिलो सेट २५–१५ मा गुमाएको थियो । दोस्रो सेट २५–२३ ले जितेपछि न्यु डायमन्डले तेस्रो सेट जित्न त्यति कठिनाई भएन । यो सेट २५–१६ले आफनो बनाएको थियो ।

घरेलु कोर्टमा विभागिय टोलीले छिटै हार मान्न तयार भएन । चौथो सेट एपीएफले आफनो नाम गरायो । चौथो सेटको सुरुदेखि नै दबाब बनाएको एपीएफले २५–१६ मा जितेको थियो । २–२ बराबरी भएपछि दुबै
टोली उपाधि जित्न निर्णायक सेटमा आफनो भाग्य आजमाउन पुगे । जुन सेटमा न्यु डायमन्ड अगाडि नै रहयो । न्यु डायमन्डले निर्णायक सेट १५–१२ ले जितेर पहिलो पुरस्कार २ लाख ५० हजार नगद सुरक्षित समेत गर्यो । उपविजेतामा सीमित एपीएफले १ लाख २५ हजार रुपियाँ प्राप्त गरेको थियो ।

पुरै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी न्यु डायमन्डकी प्रतिभा माली उत्कृष्ट खेलाडीका साथै फाइनल खेलको वुमन अफ द म्याच पनि चुनिन । उनले यामाहा कम्पनीको स्कुटर प्राप्त गरिन् । त्यस्तै विधागत रुपमा एपीएफका खेलाडी उत्कृष्ट भए । स्पाइकर सरस्वती चौधरी, ब्लकर नेविका चौधरी र सेटर बिनिता बुढाथोकी उत्कृष्ट भए । न्यु डायमन्डका कृपा अधिकारी सर्भर, सलिना श्रेष्ठ डिफेन्स र कुमार राई कोचमा उत्कृष्ट भए । उनीहरुले नगद ५⁄५ हजार प्राप्त गरे ।
हिजै भएको तेस्रो स्थानको खेलमा विभागीय टोली नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको पश्चिमाञ्चल भलिबल टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्यो । पुलिसविरुद्ध पश्चिमाञ्चलले २५–२१, २५–२१ र २५–१७ को नतिजा निकाल्यो ।

प्रतिक्रिया दिनुहोस्