पहिलो पाठक गुमाएको दिन



श्रद्धेय बुबा, प्रणाम ।
हामी सबैलाई छोडेर यस संसारबाट तपाईं बिदा हुनुभएको तिथिले आज ठीक एक वर्ष पुगेछ । तर किन हो, मलाई भने तपाईं अझै पनि मेरै वरिपरि घुमिरहनुभएजस्तो मात्र अनुभूति भइरहन्छ । सपनामा आउँदा केही कुराहरू भन्न खोजिरहनुभएको हो कि भन्ने महसुस हुन्छ, न तपाईंले भन्न सक्नुभएको छ, न मैले सुन्न सकेको छु ।

नर्भिक अस्पतालबाट २०७२ माघ ९ गते शनिबार नयाँ दिल्लीको गंगाराम अस्पतालमा लगेको दिनमा सहनै नसक्ने गरी तपाईंको ढाड दुखेको देखेपछि मैले नै आँखाभरि आँसु राख्दै डाक्टरलाई बोलाएर बेहोस हुने सुई दिन लगाएँ । मलाई लागिरहेको थियो– ‘तपाईंले मसँग त्यस बेला केही कुरा भन्न खोजिरहनुभएको थियो । पुष्कर… पुष्कर…. भनी बोलाइरहनुभएको थियो, परिस्थितिले तपाईंलाई बेहोसीको हालतमै हामी दिल्ली लग्न बाध्य भयौं ।’

तपाईंसँगै दिल्ली जाने इच्छा भएर पनि मैले सँगै जान आँट गर्न सकिनँ । खालि भगवान्सँग सोधिरहें– ‘जिन्दगीभर समाजसेवा गर्नुभएका मेरा बुबालाई तिमीले किन यस्तो पीडा दिइरहेको ? आखिर के गल्ती गर्नुभएको थियो, मेरो बुबाले ?’ जसले लायन्स क्लबमार्फत आफ्नो अन्तिम समयसम्म दिन–दुःखीको सेवामै समय बिताउनुभयो । आफ्ना भए–गरेका सबै व्यवसाय छोडेर जीवनको अन्तिम अवस्थासम्म पनि घर–परिवारलाई समेत समय नदिई भूकम्पपीडितलाई सहयोग गर्ने भन्दै अहोरात्र खटिरहनुभयो । अस्पतालमा रहेको बेला बेहोसीकै हालतमा पनि तपाईं र जुवाइँ सुनीलकृष्ण श्रेष्ठमार्फत डेनमार्कको लायन्स क्लब अफ सोलेरोडबाट भूकम्पपीडितका लागि आएको रकममध्ये २०७२ वैशाख १२ गते आएको महाभूकम्पबाट पूरै घर भत्केका दिलीप माझी, रामचन्द्र थापा र हरि तिमल्सिनालाई दिनुपर्ने चेकमा सही गर्नुपर्छ भन्दै तपाईंले चेक मागिरहेको आवाज अहिले पनि मेरो कानमा गुन्जिरहन्छ ।

तपाईंको देहावसानपछि हजारौं मान्छेहरू समवेदनाका लागि घरमा भीड लागेपछि हामीलाई अझ स्पष्ट भयो– ‘तपाईंले कति मान्छेहरूको मन जितेर जानुभएको रहेछ ।’ कैयौंले भनिरहेका थिए– ‘हामीलाई जानकारी नै नदिईकन किन त्यति हतारमा राति नै बुबालाई आर्यघाट लगेर दाहसंस्कार गर्नुभएको ? समाजका लागि त्यति ठूलो योगदान गरेको मान्छे, झन्डै २२ वटा संघसंस्थामा अध्यक्ष भएर समाजसेवा गरिरहेको मान्छेको अन्तिम दर्शन गर्ने अवसरसमेत दिनुभएन तपाईंहरूले ।’ मसँग त्यति बेला तपाईंका शुभचिन्तकहरूका लागि दिने जवाफ नभए पनि मनमनै आफैंलाई प्रश्न गरिरहें– ‘मृगौला प्रत्यारोपण गरेपछि आरामको जीवनयापन गर्नुपर्ने मेरा बुबाले यति ठूलो जिम्मेवारी कसरी निर्वाह गर्न सक्नुभएको होला ?’

मृत्यु जीवनको तीतो यथार्थ हो । तर, जीवनको अन्तिम घडीसम्म दीन–दुःखीका लागि तन, मन र धनले समर्पित तपाईंले मृत्युवरण गर्नुभन्दाअघि भोगेको पीडालाई देखेपछि भने अलि–अलि भगवान्प्रति रहेको भरोसा पनि मरेर गएको छ । भगवान् भएको भए त हजारौं मान्छेहरू मार्ने, भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने, गुण्डागर्दी गरेर निर्दोष मान्छेहरूलाई यातना दिने अपराधीहरूचाहिँ यो देशमा प्रधानमन्त्री, मन्त्री र ठूला–ठूला पदमा पुग्ने, अनि दीन–दुःखीको सहयोगमा रातदिन नभनी जुट्ने तपाईंजस्ता समाजसेवीको भने झन् यस्तो शारीरिक पीडाले कम उमेरमै जीवनलीला समाप्त नहुनुपर्ने होइन र ?

तपाईंको प्यारो नाति तथा मेरो जेठो छोरो दिरेकले तपाईंको मृत्युको लगत्तै आफ्नो फेसबुकमा पोस्ट गरेको ‘जीवनमा भेटेका मान्छेमध्ये तपाईं सबैभन्दा बलियो मान्छे हो । आत्मविश्वासका साथ म यो किन भन्न सक्छु भने, मैले मेरो जीवनमा तपाईं जम्मा दुईपटक मात्र रिसाएको भेटें । कमजोर मान्छे मात्र कुनै कुराले पागल हुन्छन्, किनभने उनीहरू तनावलाई झेल्न सम्हाल्न । अनौठो र सामान्य जस्तोसुकै मान्छेले पनि तपाईंजस्तो हजुरबुबाको चाहना राख्छन् ।

तपाईंले हामीलाई धेरै कुरा सिकाउनुभयो तर आँसु कसरी रोक्ने भनेर कहिल्यै सिकाउनुभएन । मैले तपाईंको मृत्युमा आँसु रोक्न सकिनँ बा’ भन्ने कुराबाट म शतप्रतिशत सहमत छु । उनले त जसोतसो फेसबुकमा यति कुरा भए पनि शेयर गरे । फरक उमेरकै कारण नातिले भन्दा छोरो भएकोले तपाईंसँग दिरेकले भन्दा मैले धेरै समय बिताउने अवसर पाएको छु । यति हुँदाहुँदै पनि मैले मेरो जीवनमा तपाईं मसँग जम्मा तीनपटक मात्र रिसाएको अनुभूति गरेको छु । पहिलो पटक, जेठो छोरो वाणिज्यशास्त्र पढेर आफ्नो व्यापार–व्यवसाय सम्हालोस् भन्ने चाहना राख्दाराख्दै पनि मैले तपाईंको अनुमतिविना नै पब्लिक युथ क्याम्पस छोडेर रत्नराज्य लक्ष्मी क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र पढ्न जाँदा, दोस्रोपल्ट तपाईंले भर्खर जापानबाट झिकाउनुभएको यामाहा मोटरसाइकललाई मैले धूलो–पीठो हुने गरी दुर्घटना गरिदिँदा र तेस्रो तपाईंको व्यवसायलाई सम्हाल्न छाडेर पत्रकारितातिर बरालिँदा ।

यसका बाबजुद, तपाईं मेरो त्यस्तो बुबा हुनुहुन्थ्यो, जसले सन् १९८४ मा दक्षिण कोरियाको राजधानी सोलमा भएको एक्स्पो ८४ को अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिइरहनुहुँदा तपाईंले मलाई कोरियाबाट पत्र पठाउँदै गाली गर्नुको सट्टा पत्रकारितामा लागेपछि इमानदार, निडर, अनुशासित र निष्पक्ष हुन सक्नुपर्छ भनी मलाई पत्रकारितामा लाग्न उल्टो प्रेरणा दिनुभयो । तपाईंले आफ्नो ४ पाना लामो पत्रमा दिनुभएको मार्गनिर्देशनअनुसार थालेको पत्रकारिता नै अहिले नेपाली पत्रकारितामा मेरो पहिचान बनेको देखेर जान पाउँदा सायद तपाईंको आत्मालाई पनि शान्ति मिलेको हुनुपर्छ ।

यति हुँदाहुँदै पनि पत्रकारितामार्फत् देशमा राजनीतिक स्थिरता ल्याएर नेपाली जनतालाई सुख–शान्तिको जीवनयापन गर्न सकिने वातावरण सिर्जना गराउनुपर्ने तपाईंको चाहनालाई मूर्तरूप दिन भने अझै मैले लामो समय संघर्ष गर्नुपर्ने देखिन्छ । तपाईं बित्नुभएको एक वर्ष भइसक्दा पनि यहाँ राजनीतिक दलहरू मिलेर संविधान कार्यान्वयन गर्न सकिरहेका छैनन् । बाचा गरेअनुसार चुनाव गराउनु त परै जाओस्, राजनीतिक दलहरू व्यक्तिगत स्वार्थमा रुमलिएर एक–आपसमा झगडा गर्न अझै छोडेका छैनन् बुबा, गर्ने के ?

त्यसो त तपाईं जीवित हुँदै सयौं लेख लेखेर मैले नेताहरूलाई सजग गराउन नखोजेको पनि होइन । तपाईंले जस्तै नेपाली जनताले मैले लेख्ने गरेका लेखहरूको प्रशंसा गरे पनि नेताहरूका लागि भने ती सबै लेखहरू ‘गैंडाको छालामा चिमोटिनु’ अथवा ‘कुकुरको पुच्छर बार वर्ष ढुङ्ग्रोमा हाले पनि उस्तै’ मात्र भएजस्तो लाग्यो । तपाईं बितेको महिना दिनसम्म मेरो कलम पनि चलेन ।

मन नमानेर तपाईं बितेको दुई महिनापछि ‘नेपाली जनताले गणतन्त्रमा पाएको उपहार’ शीर्षकमा राजनीतिक दलका नेताहरूलाई सजग र सतर्क गर्ने खालको एउटा कडै लेख लेखें । लेख प्रकाशित भएको मिति विसं २०७३ वैशाख १३ गतेको त्यो दिन पनि पहिलेझैं बिहान ६ बजेदेखि नै देशका प्रबुद्ध वर्गदेखि सयौं सर्वसाधारण पाठकहरूको टेलिफोन, मेसेज र फेसबुकमार्फत् थुप्रै धन्यवादका साथै बधाई आइरहे । तर, पहिलेजस्तो एकाबिहानै फोन गरेर तपाईंले दिनेजस्तो प्रतिक्रिया भने मैले त्यो दिन कसैबाट पनि पाउन सकिनँ । पाऊँ पनि कसरी ? मैले मेरो पहिलो पाठक त केही महिनाअघि अर्थात् मिति २०७२ फागुन ३ गते नै गुमाइसकेको थिएँ ।

 

 

तपाईंको प्यारो छोरो
पुष्करलाल श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्