सीके राउत पक्राउ



धनुषा, (नेस)
राष्ट्र विखण्डन गर्ने अभिव्यक्ति दिएका सीके राउतलाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रमार्फत् राउतलाई पक्राउ गरी सहयोग गरिदिन आग्रह गरेपछि धनुषा प्रहरीले पक्राउ गरेको हो। जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट राउतलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउपछि राउतलाई सिरहा नै पठाइने धनुषा प्रहरी प्रमुख एसपी लालमणि आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। सिरहा स्थायी घर भएका राउत जनकपुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए।

राउतले मधेसमा बसेर स्वतन्त्र मधेस अभियान चलाउँदै आएका छन्। यही माघ ५ गते राउतले सिराहाको लहानमा सभा गरेर देश टुक्रइउने अभिव्यक्ति दिएका थिए। यसै घटनापछि जिल्ला प्रहरी कार्यालय सिरहाले उनको नाममा पक्राउ पूर्जी जारी गरेको थियो।

राउतविरुद्ध राज्य विप्लवको मुद्दा लगाउने तयारी गरिएको बताइएको छ। राज्य विरुद्धको अपराध र सजायँ ऐन २०४६ मा उल्लेखित राज्य विप्लवको अपराध वा उद्योग गरेको ठहरिए राउतलाई जन्मकैद वा १० वर्षसम्म कैद सजायँ हुन सक्छ। राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो। तर, उनी धरौटीमा छुटेका थिए।

प्रतिक्रिया दिनुहोस्