जीतसँगै झापा सेमिफाइनलमा



सुदूरपश्चिविरुद्ध बल अघि बढाउँदै झापा ११ का बुद्ध चेम्जोङ । तस्वीरः नेस

रमेश समदर्शी, बिर्तामोड
पाहुना टोली सुदूरपश्चिम फुटबल क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै आयोजक रमपम झापा–११ एफसी झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ।

झापाले डोमालाल राजवंशी रंगशालामा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत बुधबार झापाले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गर्दै अन्तिम चारमा पुगेको हो। झापाले पहिलो खेलमा भारतको शेर ए एफसीमाथि ५–० गोलको नतिजा निकालेको थियो।

पहिलो हाफ सुधारिएको खेले पनि दोस्रो हाफपछि सुदूरपश्चिमले लय गुमायो। झापाले पहिलो गोल उपहारस्वरुप प्राप्त गर्यो। ३०औँ मिनेटमा झापा ११ का विदेशी खेलाडी मार्टिनको प्रहार गोललाइनबाट क्लियर गर्न खोज्दा सुदूरपश्चिमका राकेश हमालको आत्मघाती गोल भएको थियो। आत्मघाती गोलसँगै सुदूरपश्चिम दबाबमा पर्यो।

१–० गोलले अग्रता लिएको झापाले दोस्रो हाफमा ३ गोल गर्यो। दोस्रो हाफको सुरुवातीमा तीन मिनेटभित्र दुई गोल भएको थियो। एक गोलले पछि परेको सुदूरपश्चिमका खेलाडी दोस्रो हाफमा सम्हालिन नपाउँदै खेलको ४६औँ मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै २–० को अग्रता दिलाए। बुद्धको एक्लो प्रयासमा पहिलो बार च्याप्दै प्रहार गरेको बल सुदूरपश्चिमका गोलरक्षक टेकेन्द्र थापाले रोक्न सकेनन्।

झापाका लागि तेस्रो गोल ४८औँ मिनेटमा विदेशी खेलाडी मार्टिनले गरे। बुद्ध चेम्जोङले रन्जित श्रेष्ठलाई पास दिएका थिए। रन्जितको पासमा पाएको बललाई मार्टिनले ट्याप गर्दै जाली चुमाए। त्यस्तै, ८८औँ मिनेटमा मार्टिनले पाएको अवसरमा उनी गोल गर्न चुकेनन्। दिलेन लोक्तामले मिलाइदिएको पासलाई सदुपयोग गर्दै मार्टिनले व्यक्तिगत दोस्रो गोल गरे अनि टिमलाई ४–० को जीत सुनिश्चित गरे। उनी झापाका लागि पहिलोपटक मैदान उत्रिएका हुन्।

यसअघि खेल सुरु भएको चौँथो मिनेटमा सुदूरपश्चिमका विक्रम सिंहको प्रहार बाहिरियो। ९औँ मिनेटमा झापाका पिटर सेगुनको पासमा बुद्ध चेम्जोङको प्रहार क्रसबारमा लाग्दै मैदान फर्कियो।

खेलको म्यान अफ दी म्याच दुई गोल गर्ने झापा–११ का खेलाडी मार्टिन घोषित भए। उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजारसहित दुई तोला चाँदीको मेडल प्रदान गरे।

त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका एक केशव लामालाई एक्सपर्ट म्यान अफ दी डे घोषणा गर्दै नगद ५ हजार प्रदान गर्यो। बिहीबारको खेल मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी)बीच हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्