चेल्सी बराबरीमा रोकियो



लन्डन, (एजेन्सी)
इंङलिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राती भएको खेलमा लिभरपुलले चेल्सीसँग बराबरी खेलेको छ।

चेल्सीले लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा घरेलु टोलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। खेलको २४औं मिनेटमा डेभिड लुइजले गोल गरेपछि पहिलो हाफसम्म चेल्सी १–० ले अघि रहेको थियो। तर दोस्रो हाफमा भने लिभरपुलले गोल फर्कायो। खेलको ५७ औं मिनेटमा जर्जिनों भाइनाल्डमले बराबरी गोल फर्काएका थिए।

खेलको ७६ औं मिनेटमा चेल्सीले पुनः खेलमा अग्रता लिने अवसर प्राप्त गरेपनि सदुपयोग गर्न सकेन। चेल्सीले पेनाल्टी प्राप्त गरेपनि डिएगो कोष्टाको प्रहारलाई लिभरपुलका गोलरक्षकले जोगाएपछि खेलमा पुनः अग्रता लिनबाट चुकेका थिए। बराबरीसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले टोटनहाममाथि ९ अंकको अग्रता कायम गरेको छ। चेल्सीको २३ खेलबाट ५६ अंक भएको छ। यता लिभरपुल भने २३ खेलबाट ४६ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा छ।
प्रिमियर लिग अन्तर्गत मंगलबार राती नै भएको अर्को खेलमा आर्सेनललाई वाट्फोर्डले उसकै घरेलु मैदानमा स्तब्ध तुल्याएको छ। पाहुना टोली वाट्फोर्डलाई विजयी दिलाउन योनुस काबुल र ट्रोए डिनीले समान एक–एक गोलको योगदान गरे। आर्सेनलका तर्फबाट भने अलेक्स ईओबीले एक गोल फर्काएका थिए। यो नतिजाले आर्सेनलको लागि उपाधि जित्ने आशा झनै कठिन बन्दै गएको छ।

यस्तै अर्को खेलमा स्वान्सी सिटीले साउथह्यामप्टनलाई २–१ ले हराउँदै तीन अंक जोडे। यस्तै क्रिष्टल प्यालेसले बर्नमाउथलाई २–० ले हराँउदा बर्न्लेले पनि लेस्टर सिटीलाई १–० ले पराजित गरे। यसैगरी टोटनहाम हट्सपोर सन्डरल्यान्डसँग गोलरहित बराबरीमा रोकिँदा मिडिल्सब्रो र वेष्ट ब्रोमले १–१ गोलको बराबरीमा चित्त बुझाए। टोटनहामले शीर्ष टोली चेल्सीसँग अग्रता खुम्च्याउन चुकेको छ।

प्रतिक्रिया दिनुहोस्