पैसा जोगाउन खोज्दा बाघको खोरमा



बेइजिङ, (एजेन्सी)
पूर्वीचीनमा रहेको एउटा चिडियाघरमा बाघको खोरमा छिर्ने एकजना आगन्तुकलाई बाघले चिथारेर मारेको प्रहरीले जनाएको छ। निंग्वो शहरमा रहेको योंगोर चिडियाखानामा भएको सो घटनालगत्तै स्थानीय प्रहरीको विशेष दस्ताले बाघलाई गोली हानेर मारेको बताइएको छ।

उद्धार गरेर अस्पताल पुर्याइएका ती पुरुषलाई डाक्टरहरूले मृत घोषित गरेका थिए। टिकट नतिर्ने उद्देश्यले चिडियाखानाको तीन मिटर अग्लो पर्खाल चढेर हामफल्दा उनी बाघको खोरमा परेको स्थानीय पर्यटन निकायले जनाएको छ। उक्त दुर्घटनापछि सो चिडियाखाना बन्द गरिएको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ।

हुवेई प्रान्त निवासी झांग नामक ती अधवैंशे व्यक्तिका पत्नी र सन्तानहरू पनि घटना हुँदा चिडियाखानामा नै रहेको प्रहरीले जनाएको छ। बाघले कालो ट्राउजर र निलो लुगा लगाएका उनलाई घाँटीमा टोक्दै गरेको र अरू दुईवटा बाघले उनलाई घेर्दै गरेको भिडियो र तस्वीर त्यहँँ उपस्थित अन्य अगन्तुकहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

चिडियाघरको प्रशासनले भने बाघहरूलाई तर्साएर भगाउन पटाखा पड्काएको जनाएको छ। गत वर्षको जुलाईमा पनि राजधानी बेइजिङस्थित एउटा वन्यजन्तु निकुञ्जमा कारबाट निस्कनासाथ एक महिला र उनकी आमालाई बाघले आक्रमण गरेको थियो। झाओ नामक ती महिला बाँचे पनि उनकी आमाको चोटकै कारण मृत्यु भएको थियो। झाओले उक्त निकुञ्जबाट क्षतिपूर्ति लिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्