ट्रम्पको कार्यकारी आदेशको विरुद्ध कर्मचारीको हस्ताक्षर



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केही मुस्लिम देशका नागरिकमाथि अमेरिका प्रवेश निषेध गर्ने आदेशलाई लिएर अमेरिकाभित्रै विरोधका स्वर व्यापक भएको छ।

ह्वाइट हाउसको कडा चेतावनीका बाबजुद अमेरिकी विदेश विभागका करिब ९ सय अधिकारीहरूले मुसलमान बाहुल्य रहेका सातवटा देशका आप्रवासी तथा शरणार्थीमाथि रोक लगाउने ट्रम्पको आदेशविरुद्ध तयार पारेको एउटा दस्तावेजमा हस्ताक्षर गरेका छन्।

सोमबार अमेरिकाकी कार्यकारी महान्यायधिवक्ता जनरलले पनि ट्रम्पको उक्त आदेश मान्न अस्वीकार गर्दै देशभरिका न्यायधिवक्ताहरूलाई त्यसको पैरवी नगर्न पत्राचार गरेकी थिइन्। उक्त अवज्ञालगत्तै उनलाई पदबाट बर्खास्त पनि गरिएको थियो।

विदेश विभागका एकजना उच्च अधिकारीले ट्रम्पको कार्यकारी आदेशविरुद्धको उक्त असहमति दस्तावेज बुझाइसकेको पुष्टि गरेका छन्। सोमबार उक्त अभियान थालिएको जानकारी आएपछि ह्वाइट हाउसका प्रवक्ताले अत्यन्त कडा शब्दमा भनेका थिए– ‘जो जो यो नीतिमा असहमत छन् उनीहरू छोडेर जान सक्छन्।’

ज्ञापनपत्रमा ट्रम्पले जारी गरेको उक्त कार्यकारी आदेश अमेरिकी मूल्यविरुद्ध भएको र यसले सम्पूर्ण विश्वमा अमेरिका विरोधी भावनालाई प्रोत्साहित गर्ने उल्लेख गरिएको छ।

विदेश विभागका अधिकारीहरूले लेखेका छन्– ‘अमेरिकालाई नोक्सान पुर्याउन चाहने केही मुठ्ठीभरका व्यक्तिलाई मात्र रोक्ने उद्देश्यको यो नीतिले २० करोड वैध यात्रीलाई रोक्नेछ। त्यो अमेरिकालाई सुरक्षित बनाउन उपयुक्त हुनेछैन।
विदेश विभागका अधिकारीहरूले ज्ञापनपत्रको माध्यमबाट प्रशासनको नीतिहरूविरुद्ध असहमति व्यक्त गर्न सक्छन्। कार्यकारी आदेश विपरीत फरक मत अर्थात् डिसेन्ट मेमोको शुरुआत भियतनाम युद्धका बेला भएको थियो। हालैका वर्षमा ओबामाको सिरिया नीतिविरुद्ध पनि केही अधिकारीहरूले यसको प्रयोग गरेका थिए।

यसअघि अमेरिकी पूर्वकार्यकारी महान्यायधिवक्ता सेली यट्सले पनि ट्रम्पको उक्त आदेश मान्न अस्वीकार गरेकी थिइन् र उनले आफू उक्त आदेशसँग सहमत नभएको बताएकी थिइन्। त्यसको एक घण्टापछि नै ट्रम्पले उनलाई बर्खास्त गर्ने आदेश जारी गरेका थिए।

ट्रम्प ७ मुस्लिम राष्ट्रका नागरिकको प्रवेशमाथिको निषेध आदेशमा अडिग देखिएका छन्। तर देशव्यापी र उनको आफ्नै पार्टीका केही सांसदहरूका तर्फबाट समेत त्यसको व्यापक आलोचना भइरहेको छ।

मतदान बहिष्कार
अमेरिकी सिनेटको वित्तीय कमिटीका विद्यमान डेमोक्रइटिक पार्टी सदस्यले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट नामांकित भएर आएका दुई जना प्रतिनिधिका लागि मतदान बहिष्कार गरेका छन्। उनीहरूको बहिष्कारका कारण मतदान स्थगित भएको छ।

ती सदस्यहरूले स्वास्थ्य मन्त्री तथा अर्थ मन्त्रीका लागि नामांकित टम प्राइस र स्टिफन मनुसिनको आर्थिक गतिविधिका बारेमा जानकारी मागेका छन्।
मतदानको माध्यमबाट अनुमोदन हुनुपर्ने ट्रम्पका तर्फबाट नामांकित अन्य प्रतिनिधिहरूमा महान्यायधिवक्तामा नामांकित जेफ सेसन्स पनि पर्छन्।

वित्त कमिटीका डेमोक्रइट सदस्यहरूले पत्रकारहरूलाई टम प्राइसको स्वास्थ्य कम्पनीको सेयरका बारेमा आफूहरूले जानकारी चाहेको बताएका छन्। ट्रम्पले आफ्नो मन्त्रीमण्डलमा जर्जियाका टम प्राइसलाई स्वास्थ्य मन्त्रीको पदका लागि नामांकित गरेका छन्।

सिनेटरहरूले आफू स्टिफन मनुसिनको विषयमा बैंक वनवेस्टमा उनको व्यवहारलाई लिएर पनि चिन्तित रहेको बताएका छन्। स्टिफनमाथि बैंक वनवेस्टमा काम गरेको बेला धाँधली गरेको आरोप छ।

यसबीच रिपब्लिकन पार्टीका सिनेटर अरिन ह्याचले डेमोक्रइटिक पार्टीका सदस्यहरूको व्यवहार बाधा उत्पन्न गराउने खालको भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्