काठमाडौं धान्ने आलु



आलु रोपिएको झोर मनगाउँको बारी र गाउँ, आलु रोप्दै किसानहरू र आलुका लागि मल बनाउन पत्कर स्याहार्दै स्थानीय किसान ।

चिरञ्जीवी मास्के

दोलखा शैलुङ्गेश्वर गाविसको झोर, मनगाउँ, कालापानी र घलेडाँडामा करिब ३ सय घरधुरी छ । काठमाडौँमा प्रसिद्धी कमाएको ‘मुडेको आलु यहीं गाउँले पठाउने गर्छ । ‘काठमाडौँमा बिक्री हुने ७० प्रतिशत आलु यही गाउँबाट जान्छ’, झोर गाउँका स्थानीय कान्छा श्रेष्ठले भने– ‘तर नाम भने ‘मुडेको आलु छ ।’

शैलुङ्गेश्वरको झोर मनगाउँ र आसपासको कालापानी, घलेडाँडा तथा लाकुरीडाँडा गाविसको खरीढुङ्गालगायत आलु उत्पादन हुने क्षेत्रमा अहिले धमाधम आलु रोप्ने काम भइरहेको छ । ‘पुसदेखि फागुनसम्म आलु रोप्ने गरिन्छ अनि असार–साउनमा उत्पादित आलु बिक्री–वितरण हुन्छ’ –कान्छाले भने । व्यावसायिक आलु खेतीमा लागेका यो क्षेत्रका स्थानीयले एउटा घरबाट वार्षिक १ लाखदेखि ६⁄७ लाखसम्मको आलु बिक्री गर्दै आएको अर्का स्थानीय साइँला श्रेष्ठले बताए । ‘आलुको सिजन सकिएपछि यो गाउँमा बन्दा र काउली उत्पादन गरिन्छ’ –साइँलाले भने । बन्दा र काउली पनि वार्षिक कम्तीमा ५० हजारसम्मको बिक्री गरिँदै आएको स्थानीयको भनाइ छ ।

झोर मनगाउँका बासिन्दाले आलुको व्यावसायिक उत्पादन थालेको धेरै वर्ष भएको छैन । ‘१०⁄११ वर्ष मात्र भयो हामीले आलुको व्यावसायिक खेती गरेको’, कान्छाले भने– ‘पहिले दुई–चार धार्नी मुडे बजारतिर जाँदा लिएर जाने गरेका थियौं, मूल्य राम्रै आउने भएपछि व्यावसायिक खेती शुरू गरेका हौं ।’ झोर मनगाउँका बासिन्दालाई आलुले बजार पाउँदैन कि भन्ने चिन्ता पनि छैन । आलु उत्पादन शुरू भएपछि व्यावसायीहरू घरघरमै आलुको मोलतोल गर्न आउने गरेको मनगाउँका लालबहादुर श्रेष्ठले बताए । धार्नीको ७५ रुपियाँसम्ममा घरबाटै आलु बिक्री गर्ने लालबहादुरले बताए ।

दोलखाको शैलुङ र लाकुरीडाँडाको विभिन्न गाउँमा उत्पादित आलु काठमाडौँमा मुडेको आलु भनेर बिक्रीवितरण भएकोमा स्थानीयको गुनासो छ । ‘खै हामीले शैलुङको या दोलखाको आलु भनेर बिक्री गर्न सकेको’ –मनगाउँका युवा किसान अमिर श्रेष्ठले गुनासो गरे । सरोकारवाला निकायले जिल्लामा उत्पादित आलुलाई दोलखाको आलु भनेर बिक्री गर्नुपर्ने अमिरको भनाइ छ । जिल्ला विकास समिति दोलखाले जिल्लाको शैलुङ, खरीढुङ्गालगायतको क्षेत्रमा उत्पादित आलुलाई दोलखाको आलु भनेर परिचित गराउन दोलखाको आलु लेखिएको बोरा वितरण गर्ने तयारी गरिरहेको जनाएको छ । दोलखाबाट वार्षिक सरदर १२⁄१५ करोडको आलु निर्यात हुने भए पनि त्यो मुडेको आलु भनेर बिक्री–वितरण हुँदै आएकाले त्यसलाई दोलखाकै परिचय दिलाउन बोरा वितरणको तयारी गरिएको जिल्ला विकास समिति दोलखाका सूचना अधिकृत विक्रम कार्कीले बताए ।

दोलखाको मात्र होइन काठमाडौँको समेत बजार धानेको शैलुङको आलु उत्पादन हुने गाउँमा सडकको भने निकै समस्या देखिएको छ । आलु उत्पादन हुने शैलुङको गाउँमा दोलखाको भैंसे, सिन्धुपाल्चोकको मुडे र रामेछापको खोलाखर्क गरी तीन नाकाबाट सडक अगाडि बढेको भए पनि तीनैतिर भरपर्दो सडक नहुँदा आलु निर्यातमा समस्या भएको स्थानीय किसानको गुनासो छ ।

जिल्ला विकास समिति दोलखाले तामाकोसी–झोर मनगाँउ सडकलाई प्राथमिकतामा राखेको भए पनि बजेट भने खासै धेरै छुट्टाउन सकेको छैन । गत वर्ष डेढ लाख बजेट सडक मर्मतका लागि छुट्टाएको जिल्ला विकास समिति दोलखाले यो वर्ष बजेट छुट्याउन सकेको छैन ।

दोलखा क्षेत्र नम्बर २ का सांसद एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलको पहलमा मुडे–भैंसे सडकका लागि २१ करोड रकम छुट्याएर टेन्डरसमेत भइसके पनि निर्माण व्यवसायीले काम नगर्दा सडक अलपत्र परेको छ । पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल निर्माण व्यवसायीले काम नगरेकाले सडकको काम अलपत्र परेको स्वीकार गर्नुहुन्छ । सरकारले तत्कालै अर्को निर्माण व्यवसायीलाई कामको जिम्मेवारी दिएर सडक सुधार गर्नुपर्ने उहाँ बताउनुहुन्छ । पूर्वमन्त्री पोखरेल दोलखाको ढुङ्गेदेखि मनगाउँसम्मको सडकका लागि समेत सरकारले बजेट छुट्याएकाले तत्काल काम शुरू हुने बताउनुहुन्छ ।

अहिले तीनैतिरबाट जाने सडक साँगुरो र खाल्डाखुल्डी भएकाले हिमपातको सिजन र वर्षाको सिजनमा यातायात सञ्चालन हुन कठिन भएको छ । हिमपातको सिजनमा आलु रोप्नुपर्ने र वर्षाको सिजनमा उत्पादित आलु बिक्री गर्नुपर्नेमा दुवै सिजनमा यातायात सञ्चालन हुन नसक्दा समस्या हुने गरेको मनगाउँका युवा किसान अमिर बताउँछन् । ‘आलु रोप्ने पुस⁄माघमा हिमपात हुने भएकाले यातायात सञ्चालन हुँदैन अनि आलु उत्पादन हुने असार–साउनमा पनि पानी परेर सडक हिलाम्य हुने भएकाले यातायात सञ्चालन हुन सक्दैन’ –स्थानीय किसान अमिरले भने । काठमाडौँमा समेत प्रसिद्धि कमाएको शैलुङ्को आलु व्यवसायलाई प्राथमिकता दिई कृषिलाई प्रोत्साहित गर्न सरकारले सडकलाई प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस्