पर्यटकीय क्षेत्र थुमनमा पर्यटकको चहल पहल बढ्यो



हिमनाथ देबकोटा, रसुवा । रसुवाको थुमन–४ का फुर्पु ग्याम्जो तामाङले कृषि पेशा छाडेर होटल व्यवसाय गर्न थाल्नु भएको १५ वर्ष भयो । सुरुमा होमस्टेबाट व्यवसाय सुरु गर्नु भएका तामाङले पर्यटकको आगमन बढ्न थालेपछि होटल नै सञ्चालनमा ल्याउनु भएको थियो ।

पहिले थुमनमा होमस्टे पनि कम थियो । साधारण होमस्टेमा पनि पर्यटक खचाखच हुन थालेपछि होटलको आवश्यकता देखेर तामाङले होटल सञ्चालनमा ल्याउनुभएको थियो । भुकम्प जानुभन्दा पहिले थुमनमा एक सिजनमा करिव एक हजारको हाराहारीमा पर्यटक जाने गरेका थिए । तर भुकम्प गएको एक वर्षसम्म शुन्य अवस्थामा पुगेको पर्यटन व्यवसाय अहिले विस्तारै तङग्रिदै गएको छ ।

जिल्लाको उत्तरी भागमा पर्ने थुमनमा काठले वनेका घर भएकाले भुकम्पले पनि धेरैजसो घरमा क्षति पुगेन । अलिअलि क्षति भएका घर पनि स्थानीयले पहिलो किस्ता पाउनु भन्दा अघि नै निमार्ण गरिसकेका छन् । थुमन गाँउमा ढुङ्गाको सुख्खा गारो लगाइएका घरमा क्षति पुगेपनि काठबाट वनाइएका होटल भने भत्किएको थिएन् ।

भुकम्प अघि राम्रै आम्दानी गरेका व्यवसायीको भुकम्प पछि भने आम्दानी पनि घटेको छ । भुकम्प अघि वार्षिक करिव १५ लाख आम्दानी हुने गरेको भएपनि भुकम्प पछि पर्यटक घटेपछि आम्दानी पनि घटेको ८ वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएकी थुमन–४ की होटल व्यवसायी पेमा लामा तामाङ्नीले वताउनुभयो ।

थुमन– १ की होटल व्यवसायी पेम्वा याङजेन तामाङ प्रचारपसारको अभावमा पर्यटनको आगमन घटेको वताउनुहुन्छ । पर्यटन विभागले तामाङ सम्पदा मार्गमा सञ्चालित होटल अनि पदमार्ग नभत्किएको सन्देश विश्व सामु पु¥याउन सके पर्यटन व्यवसाय पहिलेकै अवस्थामा फर्कने तामाङले वताउनुभयो ।

भनेजस्तो सहज छैन होटल चलाउन

थुमनमा अहिले १५ वटा ठुला होटल र तीन वटा होमस्टे सञ्चालनमा रहेका छन् । पर्यटकिय क्षेत्र थुमन अहिलेसम्म पनि सडक सञ्जालसँग जोडिन सकेको छैन् । सदरमुकाम धुन्चेबाट करिव एक घण्टाको सडक यातायात पश्चात स्याफ्रु पुगिन्छ ।
स्याफ्रुबाट करिव ४ घण्टाको उकालो चडेपछि थुमन पुग्न सकिन्छ । सडक सञ्जालले नजोडिदा त्यस क्षेत्रमा सञ्चालित होटलका लागि आवश्यक पर्ने सामाग्री लैजान कठिनाई हुने गरेको छ ।

भुकम्प अघि भरिया पाउने भएपनि भुकम्प पछि रसुवागढि नाका सञ्चालनमा आएपछि भरियाहरु पनि रसुवागढि नाकातिर कामका लागि गएपछि सामाग्री लैजान समस्या हुने गरेको होटल व्यवसायी पेम्वा याङजेन तामाङको भनाई छ । ‘सामान ल्याउन भरिया पाइदैन् वल्लवल्ल पाएपनि केजीको २५ रुपँया भन्छन् सामान ल्याउन सके त होटल राम्रै चल्ने थियो’ तामाङले भन्नुभयो ।

यसकारण जान्छन् पर्यटक

पर्यटकिय क्षेत्र थुमनमा अहिले पनि परम्परागत रुपमा काठबाट वनेका घर देखिन्छ । काठबाट वनेका बुट्टादार झ्याल ढोका, काठको गारो अनि काठको छाना लगाएर घर निमार्ण भएको देखिन्छ । १२ वर्ष पहिले निमार्ण गरिएका माटोबाट वनाइएको वुद्धका मुर्ति रहेको छ ।

भुकम्प अघि पाङलिङले छाना छाउने भएपनि अहिले भने गाँउमा जस्तापाताको प्रयोग हुन थालेको छ । गाँउमा गएका पर्यटकलाई स्थानीय वासिन्दाले आफ्नो सस्कृतिले स्वागत गर्ने गरेका छन् । वेलुकी थुमनवासीले परम्परागत नाच देखाएर मनोरञ्जन दिने गरेका छन् । थुमन गाँउबाट लाङटाङ हिमाल, गणेश हिमाल लगायतका हिमाल पनि देख्न सकिन्छ ।
गाँउबाट एक घण्टाको उकालो चढेपछि नागथली उपत्यका पुग्न सकिन्छ छ । नागथलीबाट लाङटाङ, गोसाइकुण्ड, तिव्वतमा रहेको सिसापाङमा हिमाल देखिने हुँदा पनि त्यस क्षेत्रमा पर्यटक पुग्ने गरेका छन् ।

नागथली भन्दा केही माथि पर्ने तारुचे भ्यु प्वाइन्टबाट तिव्वतका गाँउ समेत देख्न सकिन्छ । थुमनमा मार्च महिना देखि मे महिनासम्म र सेप्टेम्वरदेखि नोभेम्वर महिना गरी दुई सिजनमा पर्यटक जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्