सिटामोल र आला छैन नाकाको स्वास्थ्य चौकीमा



नेपाल समाचारपत्र
घोराही, दाङ । नाका क्षेत्रका आधा दर्जन बढी गाउँका नागरिकलाई स्वास्थ्य सेवा दिंदै आएको एक मात्र सरकारी स्वास्थ्य निकायमा विगत छ महिनादेखि आधारभूत सामग्रीको अभाव देखिएको छ ।

विरामी जाँच्ने आला र थर्मोमिटरसमेत नरहेको स्थानीयले बताएका छन् । जसले गर्दा घण्टौं पैदल हिडेर आउने गरेका विरामी स्वास्थ्य जाँचविना नै फर्कने गरेका छन् । दाङको राजपुर ९ भैसाही स्थित उपस्वास्थ्य चौकी भैसाहीनाका त्यस क्षेत्रको एक मात्र स्वास्थ्य निकाय हो । यसमा अहिले आधारभूत उपकरणसहित सिटामोलजस्ता अत्यावश्यीक औषधिसमेत नहुँदा दैनिकजसो विरामी फर्कने गरेको स्थानीय अमृत खड्काले जानकारी दिनुभयो ।

यो उपस्वास्थ्य चौकीमा उपचार गराउन भौवा, मनौरा, स्याउले, मिर्गैया, भैसाही, खिड्की, सुकैया, सुनपत्रीलगायतका नाकाबाट विरामी आउने गरेका छन् । एक अहेव र एक सहयोगीले कार्यालय खोल्ने गरे पनि उपकरण र औषधिको अभावमा विरामीले उपचार पाउन नसकेको उपस्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष लीलाराम बिकले जानकारी दिनुभयो ।

‘हामीले जिल्ला जनस्वास्थ्यमा जानकारी गराउन थालेको धेरै भयो तर आवश्यक उपकरण र औषधि पाउन सकेका छैनौं’– उहाँले भन्नुभयो । छ महिनादेखि सामान्य ड्रेसिङ गर्ने उपकरणसमेत नहुँदा चोटपटक लाग्दा पनि उपचार पाउन गाह्रो भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्