दुई दशकदेखि लगातार खेल महोत्सवः सरकारको सुको लगानी छैन



नरेन्द्र केसी, दाङ । सहर सदरमुकाम नजिकका क्षेत्रमा खेल प्रतियोगिताका लागि सरकारले लाखौं बजेट लगानी गर्छ तर भारतसँग सिमाना जोडिएको दाङको नाका क्षेत्रमा सरकारी सहयोगविना नै झण्डै दुई देशकदेखि बर्षेनी खेल महोत्सव हुँदै आएको छ ।

भारतसँग जोडिएको दाङको नाका क्षेत्र भौगोलिकरुपमा विकट मानिन्छ भने विकास निर्माणका हिसाबले पनि निकै पछाडि परेको छ । पूर्वको भौवादेखि पश्चिम पटौली नाकासम्म दश वटा विद्यालय छन् । यी विद्यालयका विद्यार्थी र तिनका अभिभावकलाई लक्षित गरेर १८ बर्षदेखि निरन्तर नाकास्तरीय खेल महोत्सव हुँदै आएको छ ।

२०५५ सालदेखि लगातार खेल महोत्सव आयोजना गरिदै आएकोमा २०६७ सालमा ‘नाकास्तरीय खेलकूद समाज’ संस्था जिल्ला खेलकूद विकास समितिमा दर्ता गरेर नियमितरुपमा खेल प्रतियोगिता आयोजना गर्ने गरिएको समाजका अध्यक्ष श्यामबहादुर झाँक्रीले जानकारी दिनुभयो ।

यसरी बर्षेनी प्रतियोगिता सञ्चालन गर्दा हरेक बर्ष तीनदेखि चार लाखसम्म खर्च हुने गरेको छ । त्यसका लागि नाकास्तरीय खेलकूद समाजले प्रमाणपत्र छपाइका लागि दश हजार रुपैयाँ दिने गरेको छ भने बाँकी सबै आयोजक विद्यालयले नै ब्यहोर्ने गरेका छन् । विद्यालयहरुमा पालैपालो यो महोत्सव आयोजना गरिन्छ ।

यो बर्षको आयोजक गौरीशंकर निमावि भैसाहीनाका रहेको छ । ‘गत बर्ष मावि भौवानाकाले आयोजना गरेको खेलमा साढे तीन लाख खर्च भएको थियो’– गौरीशंकर निमावि भैसाहीनाका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष अमृत खड्काले भन्नुभयो– ‘यो बर्ष खेल थपिएको छ, खर्च बढ्ने अनुमान छ ।’ यति धेरै खर्च लागे पनि सरकारी निकायबाट भने खेल सामग्रीसमेत नपाउने गरेको उहाँले जानकारी दिनुभयो ।

हरेक बर्ष फागुन १२ देखि १५ गतेसम्म यो महोत्सव सञ्चालन गरिन्छ । ‘पहिले शिक्षा दिवसको अवसरमा यो कार्यक्रम शुरु गरिन्थ्यो, अब जनयुद्धका सहिदहरुको सम्मानमा सहिद सप्ताहसमेत पारेर यही समयमा गर्ने गरेका छौं’– अध्यक्ष झाँक्रीले भन्नुभयो ।

यो बर्षको प्रतियोगिताकाल लागि विद्यार्थीतर्फ १५ र अभिभावकतर्फ सात खेल तय गरिएको छ । भौवादेखि पटौलीसम्मका एक मावि, तीन निमावि र छ प्राविका सयौं विद्यार्थी खेल महोत्सवमा भाग लिन आउँछन् । उनीहरुको खानेबस्ने सबै खर्च आयोजक विद्यालयले आन्तरिक स्रोतबाट नै ब्यहोर्ने गरेको छ । जसका लागि स्थानीय वन समूहदेखि अभिभावकसम्मको सहयोग लिने गरिएको अध्यक्ष झाँक्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्