पैसा नबुझाउनेलाई खोज्दै दूरसञ्चार



बाँके, (नेस) । टेलिफोनको लाइन काटिएको छ । पुरानो बक्यौता तिर्न पर्दैन ‘हाइसन्चो’ भएको छ भनेर बसिरहनु भएको छ ? यदि यस्तो छ भने तुरुन्त पैसा बुझाइहाल्नुस् है, तपाईलाई खोज्दै दूर सञ्चारका कर्मचारी घरमै आउदै छन् । अनि, पत्रिकामा पनि तपाईको नाम सार्वजनिक गर्ने तयारी भएको छ ।

बाँकेमा तीन हजार बढी लाइन आधा दशकदेखि पैसा नतिरेका छन् । दूर सञ्चार कार्यालय, नेपालगञ्जका प्रवक्ता मुक्ति ज्ञवालीले नेपालगञ्जमा दुई हजार आठ सय २९ र कोहलपुरमा ५ सय ६० वटा लाइन ७÷८ वर्षदेखि पैसा नतिरेको बताउनुभयो । उहाँका अनुसार, ४ सय १५ वटा लाइनको दश हजारबढी बक्यौता रहेको छ ।

वर्षौदेखि पैसा नबुझाएपछि लाइन काटिएको र टेलिफोन लिएकाहरु पैसा बुझाउन आएका छैनन् । ‘चार सय १५ लाइनकै ५३ लाख छ, ज्ञवालीले भन्नुभयो, यहाँबाट एक करोड ३५ लाख बक्यौता उठाउन बाँकी रहेको छ ।’

पैसा तिर्नुको साटो लाइन काटेर बसेकाहरुलाई दूर सञ्चारले खोज्ने रणनीति बनाएको छ । दूर सञ्चारका कर्मचारीहरु घरघरमै जानुका साथै पत्रिकाहरुमा नाम सार्वजनिक गरेर बक्यौता उठाउने तयारी भएको छ । पैसा नतिर्दा पनि ढिला गरी लाइन काट्ने रणनीतिलाई परिवर्तन गरेको दूर सञ्चारले अहिले महिना महिनामा लाइन काट्ने अभियान थालेको छ ।

मंगलबारमात्रै नेपालगञ्जमा ६ सय लाइन काटिएको थियो । ‘पैसा जति भएपनि मासिक शुल्क नबुझाउने लाइन काट्छौं, प्रवक्ता ज्ञवालीले भन्नुभयो, यो अभियानले बक्यौता असुलमा राम्रो प्रभाव परेको छ ।’

दूर सञ्चारले ल्याण्डलाइन फोनमा समेत मोवाइलमा जस्तो धरौटी प्रणालीमा जाने रणनीति बनाइरहेको छ । ‘धरौटी सकिने बित्तिकै टेलिफोन बन्द हुने अवस्था आएमा बक्यौताको समस्या समाधान हुन्छ, हामी यसकै तयारीमा जुटेका छौं, ज्ञवालीले भन्नुभयो ।

बाँकेमा १४ हजार ल्याण्डलाइन टेलिफोन रहेको छ । सीडीएमए ५८ हजार र ३ लाख ५८ हजार ८ सय ७ सीम वितरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्