सामाग्री अभावले विद्यालय भवन निर्माणमा ढिलाइ



पंकजबहादुर धामी/दार्चुला, १९ माघ ।
भवन निर्माणका लागि निर्माण समाग्री अभाव हुँदा विद्यालय भवन निर्माणमा ढिलाई हुने देखिएको छ ।
चालु आर्थिक वर्ष ०७३/७४ मा जिल्ला शिक्षा कार्यालयबाट वितरण भएका २ र ४ कोठे विद्यालय भवन निर्माण कार्य ट्रष्ट अभावका कारण भवन निर्माण कार्य ढिलाई हुने भएको हो ।

‘शिक्षा मन्त्रालयको स्कुल क्षेत्र विकास कार्यक्रमको निर्देशिका अनुसार विद्यालय भवन निर्माण गर्नु पर्ने र मान्यता प्राप्त कम्पनी सुदुरपश्चिममा एकमात्रै भएकाले पनि सामान ढुवानी गर्न समस्या भएको हो ।’ जिल्ला शिक्षा कार्यालयका ओभरसियर नविन प्रसाद अवस्थीले भने । अहिलेका भवनहरु भुकम्प प्रतिरोधी र कर्कटपाताको छत राख्नु पर्ने भवनको डिजायन स्टमेट रहेको छ ।

‘यो भन्दा पहिले ढलान गर्न वा काठको सामाग्री प्रयोग गर्न मिल्थ्यो, तर अहिलेको स्टमेटमा त्यो हटाइएको छ, जगबाटै फलामे पोल राख्नु पर्ने र छतको ट्रष्टसेट सबै फलामकै हुनु पर्ने अवस्थिको भनाई छ ।

पहिलो किस्ता वाफत सबै विद्यालयहरुलाई ५ लाख रुपैँया दिइसकेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत एवं सूचना अधिकारी रामदत्त भट्टले बताए ।

विद्यालयहरुसँग सम्झौता गरेको एक महिना भन्दा बढी समय भईसकेको छ । सम्झौता गरि सबै विद्यालयहरुले फिल्ड निर्माणको काम सम्पन्न गरिसकेका छन् अब ट्रष्टको सामानहरु ल्याएपछि काम सुरु गरिने फिल्ड प्राविधिक ओभरसियर नविन अवस्थीले बताए ।

चालु आर्थिक बर्षमा जिल्ला शिक्षा कार्यालयबाट जिल्लाका विभिन्न गाविसहरुमा २ कोठे ३६ वटा विद्यालय भवन र ४ कोठे ६ वटा भवन निर्माण गरिन लागेका छन् ।

२ कोठे विद्यालय भवनका लागि १६ लाख र ४ कोठे विद्यालय भवनमा ३२ लाख रुपैँयाको बजेट खर्च गरिने जिल्ला शिक्षा कार्यालयका शाखाअधिकृत रामदत्त भट्टले जानकारी दिए । दुईकोठे विद्यालय भवन चालु आर्थिक बर्षमै सम्पन्न गर्नु पर्नेछ भने ४ कोठो भवन आगामी आर्थिक बर्षमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्