खोई यस्ता पात्र ?



अहिले शहरमा काम गर्ने र गफ गर्नेको चर्चा भइरहेको देखिएको छ । त्यो मन्त्रिपरिषद्देखि विभिन्न सरकारी कार्यालयदेखि निजी क्षेत्र सम्म छ । मन्त्रिपरिषद्का कुरा गर्दा प्रधानमन्त्रीकै कुरा पनि आउँछ । उहाँले आफ्नो कार्यकालमा थुप्रै निर्देशन दिनुभयो । निर्देशन राम्रै थिए । तर, कार्यान्वयन शून्य नै देखियो भनेर धरहरा वरपर धेरैले टिप्पणी गरेका छन् ।

अर्का निर्देशन दिने गफ गर्ने तर कार्यान्वयन गर्ने मामिलामा पछि परेका मन्त्री हुन्—गगन थापा । स्वास्थ्य क्षेत्रमा के के गरेको भनेर उनी भन्छन् । मिडियामा उचालिन्छन् । तर व्यवहारमा उस्तै अवस्था रहेको छ । अस्पतालहरुमा गएर निरीक्षण गर्यो भने पहिला र अहिलेमा एउटा आम नागरिकले कुनैपनि परिवर्तनको अनुभुति गर्ने अवस्था छैन । केही गर्छन् कि भनेर जनताले अपेक्षा गरेका यी मन्त्री लगभग कागजी काममा मात्रै सिमित भएका छन् । कार्यान्वयन केही नभएपनि कागजी काम गरेर यी थोरै चर्चामै छन् ।

अर्का मन्त्री जनार्दन शर्माको इमेज पहिला गगनको जत्तिको उज्यालिएको थिएन । तर, अहिले यी राम्रैसँग जनताको मन जित्न सफल भएका छन् । कारण जनतामा ल्याइदिएको उज्यालोले नै हो । उनीसँगसँगै बिजुलीका कुलमान त अहिले नेपालीको हिरो नै भएका छन् । यी दुईभाइले जहाँबाट चुनाव लडेपनि आगामी दिनमा जीत्ने संभावना बढेको छ ।मन्त्रिपरिषद्मा रहेका अरु महाशयहरुको नाम निशाना नै सुनिदैन । आखिर अरुहरु के गर्दैछन् त ? आआफ्नो क्षेत्रको सुधारमा केही गरे मुलुकको मुहार फेरिने थियो ।

अर्कातिर धुर्मुस—सुन्तलीको जोडीपनि अहिले नेपालमा निकै राम्रो प्रभाव पार्ने जोडीको रुपमा देखिएको छ । जनार्दन—कुलमान, धुर्मुस—सुन्तली अनि यस्तै थुप्रै समाजमा सकारात्मक छाप छोड्ने पात्र हुने हो भने मुलुकको मुहार फेर्न धेरै कुर्नु नपर्ने रहेछ । यिनीहरुको प्रतिस्पर्धामा आउने गरी अरु पनि लागे मुलुकले मुहार फेरिन्थ्यो कि भन्ने धरहरालाई लागेको छ । पाठकहरुको केही भन्नु छ कि ?

प्रतिक्रिया दिनुहोस्