ट्रम्पद्वारा संघीय महान्याधिवक्तामा बोएन्टे नियुक्त



वासिङ्टन, (एजेन्सी)
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डिस्ट्रिक्ट अफ भर्जिनियाका न्यायाधिवक्ता डेना बोएन्टेलाई संघीय कार्यकारी महान्याधिवक्ता पदमा नियुक्त गरेका छन्।

उक्त पदमा कार्यरत कार्यकारी संघीय महान्यायाधिवक्ता सेली यट्सलाई सोमबार हटाई उनको स्थानमा तत्काल डेना बोएन्टेलाई नियुक्त गरेको हो।

यसअघि, आप्रवासी शरणार्थी तथा केही मुस्लिम जनसंख्या बाहुल्य रहेका देशका नागरिकलाई अमेरिका प्रवेश निषेध सम्बन्धमा राष्ट्रपति ट्रम्पले जारी गरेको कार्यकारी आदेशको समर्थन र यसबाट उत्पन्न हुने मुद्दा मामिलामा पैरवी नगर्न यट्सले न्याय मन्त्रालयअन्तर्गतका सबै महान्याधिवक्ताका नाममा एक आदेश जारी गरेका थिए।

डेमोक्रइटिक पार्टीका समर्थक, पूर्वराष्ट्रपति बाराक ओबामाका पालामा नियुक्त भएकी महान्याधिवक्ता यट्सदेखि रुष्ट राष्ट्रपति ट्रम्पले उनलाई तत्कालै बर्खास्त गरेका हुन्। ह्वाइट हाउसले यट्समाथि धोका दिएको आरोप लगाएको छ।

राष्ट्रपति ट्रम्पको निजी सचिवालयमा सोमबार राति नै डेना बोएन्टेलाई पदको शपथग्रहण गराइएको थियो। लामो समयदेखि संघीय सरकारी वकिलका रूपमा कार्यरत बोएन्टेको उक्त नियुक्तिलाई अप्रत्याशित मानिएको छ।

कार्यकारी महान्याधिवक्तामा नियुक्त भएका बोएन्टेले तत्काल एक विज्ञप्ति जारी गरी बर्खास्त भएकी पूर्वमहान्याधिवक्ता यट्सको आदेश रद्द गरी न्याय मन्त्रालयअन्तर्गतका सबै न्यायाधिवक्ताले सरकारको नीतिबमोजिम काम गर्न र आफूले शपथग्रहण गरेबमोजिमका कर्तव्य पालन गर्न नयाँ आदेश जारी गरेका छन्।

राष्ट्रपति ट्रम्पले जारी गरेका कार्यकारी आदेश विषयवस्तु राम्ररी विश्लेषण गरी मस्यौदा गरिएको र एकदमै न्यायसंगत रहेको समेत उनले उक्त विज्ञप्तिमा दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्