मेलमिलापले विद्यालयको मुहार फेरियो



मोतीराम तिमल्सिना, काभ्रे
विद्यालयमा पानी नहुँदा विद्यार्थीहरू शौच जान त परै जाओस् पिउनलाई समेत संकट भएपछि विद्यालयले पानी बोक्नकै लागि नियुक्ति गरिएका परिचर समेतको ज्यान जोखिममा पर्यो। लामो भिरको बाटो रोशीखोलाबाट पानी बोकेर विद्यालयमा पुर्याउँदा अरुको ज्यान त बच्थ्यो होला उनकै ज्यानको भने आश थिएन।

सरमथली गाउँ विकास समितिको वडा नम्बर १ मा रहेको भुमे मावीको समस्या हो यो। करिव चार सय विद्यार्थीहरूका लागि पिउने पानी, शौच गर्ने र सरसफाईका लागि समेत पानीको श्रोत कतै थिएन। विद्यालयले नियुक्ति गरेका परिचर प्रेमप्रसाद पन्तले दैनिक केहि गाग्रो पानी त ल्याउँथे तर भिरको बाटो सधै उनलाई लडेर मर्ने डर थियो। तर पनि विद्यार्थी तथा शिक्षकहरूले समेत पर्याप्त पानी उपभोग गर्न पाएका थिएनन्। विद्यालय छेउमा रहेका धाराहरू पनि भुकम्पका कारण सुकेपछि विद्यालय र त्यसको आसपासको क्षेत्र संकटमा पर्यो।

वडा नम्वर १ र २ मा अन्यत्रबाट ल्याएको पानीको श्रोत प्रयोग हुन थाल्यो विद्यालयमा वडाबासिहरूले दिन चाहेनन्। त्यसको कारण थियो विद्यालयले लगानी गरेको छैन। विवाद बढ्दै जाँदा विद्यार्थीहरू खानेपानीबाट बञ्चित त भए नै विवाद समेत टुङ्गिन सकेन। जब सरमथली गाउँ विकास समितिमा सामुदायिक मेलमिलाप केन्द्रले उक्त विवादका बारेमा जानकारी प्राप्त गर्यो तब विवादको समाधान भयो। उक्त विद्यालयमा अहिले दुईवटा ट्याङ्कि मार्फत छात्रा, छात्रा, शिक्षकको शौचालयमा पर्याप्त पानी र पिउन समेत उपलब्ध भएको छ। परिचर समेत उक्त समस्या समाधान भएपछि ज्यान जोगिएकोमा दगं छन्।

सरमथली गाविसमा खुलेको सामुदायिक मेलमिलाप केन्द्रले दुईवटा बहुसरोकार सहित ३३ वटा विवादहरू समाधान गरेको छ। वडा नम्वर १, २ र भुमे माध्यमिक विद्यालय बीच शुरु भएको खानेपानी विवाद तथा कुलो पानीका कारण उत्पन्न विवाद समाधान गरेपछि समुदाय स्तरमा हर्षाेल्लास छाएको छ। विद्यालयका परिचर प्रेमप्रसाद पन्तले भावकु हुँदै विवादका कारण आफ्नो ज्यानको समेत जोखिम रहेको बताए। विवाद समाधान पछि खुशीले सिमा नरहेको भन्दै सबैलाई दायित्व बोध गराउने, अहंमको भावना त्याग्ने र समुदाय स्तरमै मेलमिलाप गराई फाटेका मनहरू मिलाउने अभियानको खुलेर प्रशंका गरे। चार सय विद्यार्थी, शिक्षक, अभिभावक र अन्यलाई पिउने पानी त थिएन नै शौचालय जान समेत पानी नहुँदा रोशी खोला देखि दैनिक बोकेर पुर्याउँदा भएको पीडाको प्रेमप्रसादले अनुभव सुनाएका थिए। सामुदायिक मेलमिलाप कार्यक्रमबाट संयोजक इन्द्रजित तामाङले विद्यालयका लागि आवश्यक पर्ने पानी र वडा नम्वर एक र २ का सबै उपभोक्ताहरूका लागि घर घर पानी उपलब्ध गराउन गरेको प्रयास र त्यसको उपलब्धीका बारेमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कान्छा लामाले खुशी ब्यक्त गरे। उनले विवाद हुने वितिक्कै प्रहरी, प्रशासन र अदालत जानु पर्छ भन्ने भ्रम तोडिएको अनुभव सुनाए।

दि एशिया फाउण्डेशनको आर्थिक सहयोगमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले शुरु गरेको सामुदायिक मेलमिलाप कार्यक्रमले पारेको प्रभाव र थप आवश्यकताका बारेमा जानकारी गराउँदै स्थानीय राजनीतिक दलहरूले सरमथली गाविसमा शुरु भएको मेलमिलाप कार्यक्रमलाई दिगो बनाउन गाउँ विकास समितिबाट समेत बजेट विनियोजन गरेको बताए। प्रहरीकोमा जान लागेका केहि विवादहरूलाई स्थानीय स्तरमै समाधान गरेपछि समुदायमा खुशी र एक आपसमा मेलमिलाप बढाएको नेकपा माओवादीका रेशम तामाङले बताए। सामुदायिक मेलमिलाप केन्द्रमा खानेपानीको मुहान, साँध सिमाना, मादक पदार्थ सेवन गरी भएको झगडा, सामान्य कुटपिट, आर्थिक लेनदेन, सडक अवरुद्ध लगायतका विवादहरू समाधान भएका छन्। मेलमिलाप केन्द्रको गतिविधिका बारेमा अष्ट्रेलियन दुतावासकी कामाक्षी, दि एशिया फाउण्डेशनका बरिष्ठ कार्यक्रम संयोजक प्रिति थापा, कार्यक्रम अधिकृत नमित वाग्ले, जिल्ला कार्यक्रम संयोजक सरिता सापकोटा लगायतले जानकारी लिएका थिए।

प्रतिक्रिया दिनुहोस्