ट्रम्पको अर्काे कदमः आफ्नो विरोध गर्ने महान्यायाधीवक्ता बर्खास्त



काठमाडौं, १८ माघ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्देशनको विरोध गर्ने अन्तरिम महान्यायाधीवक्तालाई बर्खास्त गरेका छन् । अमेरिकाकी अन्तरिम महान्यायाधीवक्ता साली यट्सले न्याय विभाग अन्तर्गतका सबै वकिललाई आप्रवासी सम्बन्धी राष्ट्रपति ट्रम्पको दिर्नेशनको पक्षमा नलाग्न निर्देशन दिएका थिए ।

अन्तरिम महान्यायाधीवक्ता साली यट्सले राष्ट्रपति ट्रम्पको निर्देशन संवैधानिक रहेकोमा आफू सहमत हुन नसकेको बताएका हुन् । त्यसलगतै राष्ट्रपति ट्रम्पले उनलाई बर्खास्त गरेका हुन्। राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा यट्सले न्याय विभागलाई धोका दिएकाले उहाँलाई बर्खास्त गरिएको उल्लेख गरिएको छ ।

उनको ठाउँमा भिर्जिनिया राज्यको पूर्वी जिल्लाका न्यायाधीवक्ता डेना बोएन्टेलाई नियुक्त गरिएको ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गएको शुक्रबार इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक लगाउने तथा अमेरिकी शरणार्थी कार्यक्रम एक सय २० दिनलाई बन्द गर्ने निर्देशनमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्