टाइब्रेकरमा हिमालयन शेर्पा भाग्यमानी



रमेश समदर्शी, विर्तामोड

एक मिनेटभित्र २ गोल गरेर खेलमा फर्किएको हिमालयन शेर्पा क्लब झापामा जारी दोस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। विपक्षी सशस्त्र प्रहरीको एपीएफ टिमलाई टाइब्रेकरमा पराजित गर्दै हिमालयन शेर्पा सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो।

अत्यन्तै रोमाञ्चक खेलमा विभागीय टोली एपीएफलाई ३–२ गोलले हराउँदै हिमालयन शेर्पाले अन्तिम चारमा स्थान पक्का गरेको हो। निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि २० मिनेट समय थपिएको थियो। थप समयमा दुवैतर्फबाट गोल हुन सकेन। निर्धारित समयमा एपीएफका लागि दुवै गोल युवराज खड्काले गरे भने हिमालयनका लागि सुनील बल र निशान लिम्बूले गरे।

११०औं मिनेटको खेलबाट पनि छिनोफानो नहुँदा निर्णय टाइब्रेकरबाट लिइएको हो। टाइब्रेकरमा हिमालयन शेर्पाका हेमन गुरुङ, निराजन खड्का र निशान लिम्बुले गोल गरे। एपीएफका तर्फबाट नवीन लामा र राजेन्द्र रावलको प्रहारले मात्र जाली चुमेको थियो। टाइब्रेकरमा एपीएफका सुदीप सिख्रकरको प्रहार हिमालयनका किपर किशोर गिरीले बचाए भने कप्तान मिलन राईको प्रहार पोस्टमा लागेर फर्किएको थियो। सन्तोष कटुवालको प्रहार पनि किशोरले उत्कृष्ट बचाउ गरे। हिमालयनका भूपाल गुरुङको प्रहार एपीएफका गोलकिपर अमृत चौधरीले बचाए भने सुनील बलको प्रहार बाहिरिएको थियो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टु·िएको थियो। दोस्रो हाफमा गोलको खाता एपीएफका लागि युवराज खड्काले ५९औं मिनेटमा खोलेको थिए। सुदीप सिख्रकरको क्रस पासमा युवराजले हेडमार्फत् गोल गरेका हुन्। १–० गोलको अग्रतामा रहेको एपीएफका लागि युवराजले दोस्रो गोल ७५औं मिनेटमा गरे। नवीन लामाको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन्। दोस्रो हाफको अन्त्यतिर एपीएफले पहिलो रोजाइका गोलकिपर राजु योगीलाई परिवर्तन गर्दै अमृत चौधरीलाई मैदान पठायो। त्यसपछि खेलले रोमाञ्चक मोड लिएको थियो।
यसैबीच, एक मिनेटको अन्तरमा एपीएफको पोस्टमा लगातार २ गोल गर्न सफल भए हिमालयन शेर्पाका खेलाडी। हिमालयन शेर्पाका लागि ८७औं मिनेटमा सुनील बल र ८८औं मिनेटमा निशान लिम्बुले गोल गरेका हुन्। पहिलो गोल हेमन गुरुङको लामो पासलाई सदुपयोग गर्दै सुनीलले गोल गरेका हुन्।

सुनीलको गोलसँगै हिमालयन शेर्पाले २–१ गोलको स्थितिलाई एकै मिनेटभित्र उल्टायो। सेन्टरबाट हेमनले ओभर हेड पास गर्दा निशानले गोल गरेका थिए। निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि १०–१० मिनेट समय थप गरिएको थियो। यी दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक देखियो।

यो हारसँगै एपीएफ पहिलो चरणबाटै बाहिरिएको छ। आहा–रारा गोल्डकपमा पनि एपीएफ पहिलो चरणमै बाहिरिएको थियो। करिब एक महिनाअघि काँकरभिट्टामा आयोजित मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको फाइनलमा झापासँग पराजित एपीएफ पछिल्लो समय हारको शृंखला तोड्ने पक्षमा छ।

हिमालयन शेर्पाको पूर्वको यात्रा भने यो दोस्रोपटक हो। काँकरभिट्टामा पहिलोपटक उत्रेको उसले झापासँग पहिलो चरणमा टाइब्रेकरबाट पराजयको सामना व्यहोरेको थियो। निर्धारित समयमा २–२ गोलको बराबरी खेलेर टाइब्रेकरमा उसको अफ्रिकन खेलाडी मौसाको प्रहार बाहिरिँदा झापा ११ को जित भएको थियो।

दुई वटा पेनाल्टी रोकेका हिमालयन शेर्पाका गोलकिपर किशोर गिरी खेलको म्यान अफ दि म्याच घोषित भए। उनलाई म्याक्स हाउजिङ प्रालिका तर्फबाट नगद ७ हजार रुपियाँसहित दुई तोला चाँदीको मेडल प्रदान गरियो। मंगलबारको खेल रूपन्देही–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए।

जितपछि हिमालयन शेर्पाका प्रशिक्षक विकास गौचनले प्लान ‘बी’ सफल हुँदा सेमिफाइनलको ढोका खुलेको प्रतिक्रिया दिए। ‘४–३–३ को फर्मेसनमा खेलाएको थिएँ तर २ गोलले पछि परेपछि सेकेन्ड हाफ ४–४–२ को फर्मेसनमा खेलाएँ, सफल भएँ’, उनले भने– ‘प्लान चेन्ज गरेपछि अनि अट्याकिङ खेल्यौं।’

एपीएफका प्रशिक्षक कुमार थापाले प्रत्येक मिनेटमा खेलको पोजिसन चेन्ज हुने हुँदा आफ्ना खेलाडीले क्याच गर्न नसकेको बताए। ‘डिफेन्स र कपरको तालमेल नमिल्दा हार व्यहोर्यौं’, उनले भने– ‘क्लियर गनुपर्ने बल किपर अमृतले नसक्नु नै, उनीहरूको टर्निङ प्वाइन्ट हो।’

प्रतिक्रिया दिनुहोस्