वास्तविकता सार्वजनिक गर



नेपालका महत्वपूर्ण नाकाहरूबाट खुलेआम सुन तस्करी बढिरहेको कुरा अहिले चर्चामा रहेको छ । केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै ठूलो परिमाणको सुन बाहिरिइसकेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो भने त्यसको केही पछि चीनसँगको रसुवागढी नाकाबाट पनि सुनको तस्करी भएको कुरा सार्वजनिक भएको थियो । तर, ती घटनाको पछाडि को जिम्मेवार थिए भन्ने कुरा अझै पनि अज्ञात नै रहेको छ । त्यसले गर्दा पनि छिटपुटरूपमा यस खालका घटना दोहोरिइरहेका छन् । यस प्रकारको गतिविधिले नेपालको अर्थतन्त्रलाई झनै डामाडोल गर्न मद्दत गरिरहेको छ भने केही मान्छेहरू मोटाउने काम भइरहेको छ ।

आखिर किन यस्तो भइरहेको छ र किन त्यो तस्करीलाई चिर्न सकिएको छैन भन्ने कुरा अझै रहस्यपूर्ण रहेको छ । विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी भएपछि केही कर्मचारी र भरियालाई पक्राउ गरिए पनि उनीहरूको असली मालिक को हो भन्ने कुरा अझै खुलाइएको छैन । पत्ता नलागेर नै नखुलाइएको हो कि केही कुरा लुकाउन खोजिएको हो भन्ने कुरा पनि अझै रहस्यकै गर्भमा रहेको छ । यो रहस्यको पाटो नखुल्दै प्रहरी प्रमुख बिदा बस्न लागेका छन् । नयाँ आउने प्रमुखले त्यसबारेमा केही पत्ता लगाऊलान् वा आफ्नो नियुक्तिमा नै त्यो रहस्यलाई गुपचुप गर्ने सम्झौता साटफेर हुने हो, त्यो पनि अझै अज्ञात रहेको छ ।

सरकारी तहबाट शुरुमा १० दिनको म्याद दिएर गठन गरिएको छानबिन समितिले समेत अझैसम्म केही बोलेको छैन । त्यसले गर्दा सुनकाण्ड रहस्यमाथि झन् ठूलो रहस्यमा हराइरहेको छ । त्यो पत्ता लगाउने कुरा जनताको नजरबाट हेर्दा त्यति ठूलो कुरा पनि होइन । किनकि खुलेआम विमानस्थलबाट सुन छिराइएको छ र केही मान्छे पनि पक्राउ परिसकेको अवस्थामा त्यसको गाँठो फुक्न त्यति गाह्रो हुनु नपर्ने हो । तर, यस विषयमा मौनता साँधेर अवस्थालाई अझ गम्भीर बनाउने काम भइरहेको छ ।

त्यसैले यस्ता गतिविधिमा संलग्नको जालो चिर्नका लागि पनि सरकारले कडाभन्दा कडा कारबाही गर्नु जरुरी रहेको छ । यसै प्रसंगमा बिजुली चोर कर्मचारीको कुरा जोड्नु पनि प्रासंगिक हुन आउँछ । केही व्यक्तिले फाइदा लुट्दाखेरि सर्वसाधारण जनता अन्धकारमा बस्नुपरेको अहिले आएर पुष्टि भइसकेको छ । उनीहरूलाई अहिले जसरी सरुवा गरिएको छ त्यसले बिजुली चोरको जालो चुँडाउनका लागि निश्चय पनि मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । त्यसै गरी सुन तस्करीमा जो–जो संलग्न छन्, उनीहरूलाई पनि उपल्लो तहदेखि तल्लो तहसम्म कारबाही गरेर आगामी दिनमा यस्ता गतिविधि हुन नदिने सुनिश्चितता गर्नु जरुरी रहेको छ । सुन तस्करीको वास्तविकता लुकाउने काम नगरियोस् ।

प्रतिक्रिया दिनुहोस्