लेखा समितिमा माओवादीका उपाध्याय



काठमाडौं, (नेस)
व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा डोरप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ। सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट उपाध्याय सभापतिमा निर्वाचित हुनुभएको हो। नेकपा माओवादी केन्द्रका सांसद् रहेका उपाध्यायले एमालेका उम्मेदवार पशुपति चौलागाईंलाई पराजित गर्दै सभापति चयन हुनुभएको हो। झन्डै छ महिनादेखि रिक्त रहेको सार्वजनिक लेखा समितिको सभापति बल्ल चयन भएको हो।

सोमबार भएको मतदान प्रक्रियाबाट सत्तारूढ गठबन्धनका तर्फबाट उपाध्यायले २३ मत ल्याएर विजयी हुनुभएको छ। लेखा समितिमा ५० जना सदस्य रहे पनि ३९ मत मात्र खसेको थियो। एमालेबाट उम्मेदवार बनेका चौलागाईंलाई १६ मत प्राप्त भएको थियो। लेखा समितिको सभापति चयनमा सत्तारूढ दल राप्रपाले विपक्षमा मतदान गरेको छ। राप्रपाबाट समितिको सदस्य रहेका भाष्कर भद्रा र दिनेश श्रेष्ठले एमालेबाट उम्मेदवार भएका चौलागाईंलाई मतदान गर्नुभएको थियो।

ऊर्जा मन्त्री बनेपछि सार्वजनिक लेखा समितिको सभापतिबाट जनार्दन शर्माले राजीनामा दिनुभएको छ। सभापति चयनका लागि दलहरूबीच पटक–पटक सहमतिको प्रयास गर्दा पनि सफल हुन नसकेपछि मतदान प्रक्रियाबाट सभापतिको चयन भएको हो।

प्रतिक्रिया दिनुहोस्