महाकालीको तटबन्द निर्माणमा ९५ करोड खर्च हुने



पंकज बहादुर धामी/दार्चुला, १७ माघ ।

२०७० सालमा महाकाली नदिमा आएको बाढीका कारण दार्चुला सदरमुकाम बगेको तीन वर्ष बित्न लागेको छ । महाकाली बाढीले बगाएको क्षेत्रमा साँढे चार किलोमिटरमा पक्की तटबन्ध निर्माणको काम भईरहेको छ भने जिल्ला सदरमुकाम बाहिर अन्य १२ किलोमिटर क्षेत्रमा पनि तटबन्ध निर्माणको काम चलिरहेको छ ।

पञ्चवर्षिय आयोजनाको रुपमा सञ्चालनमा रहेको महाकाली नदि नियन्त्रण आयोजनामा काम सुरु भएको पनि ३ बर्ष हुन लागेको छ । मूख्यगरी सदरमुकाम क्षेत्रमा १२ वटा व्याकेजमा तटबन्ध निर्माणको काम भइरहेको छ ।

महाकाली नदि नियन्त्रण आयोजना निर्माणको प्याकेज नम्बर ४ र ६ मा ६ मिटर अग्लो पर्खाल निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेको र पर्खाल पछाडी भर्न सामाग्री नहुँदा काम गर्न असहज भईरहेको महाकाली नदि नियन्त्रण आयोजना प्रमुख सुशिलप्रसाद देबकोटाले बताए ।

ती प्याकेजहरुमा पर्खाल पछाडी स्काईभेटरबाट भरान गर्न समस्या भईरहेको छ । महाकाली नदि नियन्त्रणका लागि बन्न लागेको ६ देखि ८ मिटर अग्लो पर्खालमा माटो भर्नको लागि जिल्ला स्थित सरोकारवालाहरुको बैठकले जिल्लाको ६ वटा सम्भावित विभिन्न क्षेत्रबाट भरान सामाग्री माग गर्न अनुरोध गर्ने निर्णय गरेपनि भरान सामाग्री पाइनेमा ढुक्क हुने स्थिति देखिएको छैन ।

महाकाली लोक मार्ग, दार्चुला तिङ्कर सडक आयोजना, अपि नगरपालिका, जिल्ला अस्पताल लगायतका सरकारी कार्यालयहरुसँग समन्वय गर्नु पर्ने भएकाले प्रक्रियागत रुपमा कामगर्न समय लाग्ने देखिएको छ । प्रक्रियागत रुपमा पनि सफल हुने वा नुहने भन्ने एकीन नभएपछि भरान सामाग्रीको समस्या समाधान नहने देखिएको छ ।

आर्थिक बर्ष २०७०/७१ मा पाँच बर्षका लागि गुरु योजना निर्माण भई २०७१ साल जेठ महिनामा सम्झौता भएको तटबन्ध निर्माणको काममा चार्लु आर्थिक बर्षको अन्तिम सम्म झण्डै ९५ करोड रुपैँया खर्च गरिने महाकाली नदि नियन्त्रण कार्यालयले जनाएको छ । आयोजनाको कुल अनुमानित बजेट ३ अर्ब ५ करोड ५७ लाख रुपँैया रहेकोमा सुरुको आर्थिक बर्षमा १९ करोड, आर्थिक बर्ष ७१/७२ मा २० करोड, आर्थिक बर्ष ७२/७३ मा ४२ करोड ३० लाख तथा चालु आर्थिक बर्षमा २५ करोड रुपैँयाको बजेट खर्च भएको आयोजना प्रमुख देवकोटाले बताए ।

चालु आर्थिक बर्षमा नदि नियन्त्रणका लागि काम गर्ने पाँच वटा निर्माण कम्पनीहरुको सम्झौता सकिन लागेको छ । प्याकेज नम्बर १, २, ३, ६ र ८ को सम्झौता २०७३ असोज मसान्तसम्मको भएपनि २०७४ असारसम्मका लागि म्याद थप गरीएको महाकाली नदि नियन्त्रण आयोजना प्रमुख शुसिल प्रसाद देबकोटाले जानकारी दिनुभयो । त्यसैगरी प्याकेज नम्बर ४, ५, र ७ को २०७४ असोज मसान्तसम्म म्याद रहेको छ भने प्याकेज नम्बर १० र ११ को सम्झौता २०७७ बैशाख सम्म रहेको छ ।

आयोजनाका अनुसार यो आर्थिक वर्षको अन्तिमसम्म कम्तिमा ६ देखि बढीमा ८ मिटर सम्मको पर्खाल निर्माण गरिने योेजना अन्तरग झण्डै ३ किलोमिटर ९ सय मिटर पर्खाल जोडिने छ । विभिन्न प्याकेजबाट भईरहेको काम अन्तरगत प्याकेज नम्बर १, २, ३, ४, ५, ६, ८, र १०, ११ मा पर्खाल एक आपसमा जोडिने आयोजना प्रमुख शुसिल प्रसाद देबकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्