आयोजक एपीएफको विजयी शुरूआत



नेपाल समाचारपत्र
काठमाडौं
सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा साबिक बिजेता एपीएफले विजयी शुरूआत गरेको छ।

एपीएफको हलचोकस्थित भलिबल कोर्टमा भएको उद्घाटन खेलमा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हरायो। ज्योती चौधरीको कप्तानीमा कोर्टमा उत्रिएको एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि २५–२०, २५–९ र २५–१२ को सहज जित निकाल्यो। एपीएफकी नियमित कप्तान बिनिता बुढाथोकीलगायत नेबिका चौधरी, सरस्वती चौधरी, रेश्मा भण्डारी र उषा विष्ट वुमन वल्र्ड छनोट प्रतियोगिता खेल्न माल्दिप्स गएका छन्।
उद्घाटन खेलमा एपीएफकी हीरा केसी वुमन अफ द म्याच भइन्। उनलाई नेपाल भलिबल संघका उपाध्यक्ष रन्जन खड्काले वुमन अफ द म्याचको उपाधिले पुरस्कृत गरेका थिए। लिगकम नकाउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा एपीएफ, न्युडायमन्ड र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ए मा रहेका छन्।

त्यस्तै पुलिस, पश्चिमाञ्चल र आर्मी समूह बी मा रहेका छन्। माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख २५ हजार र तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्नेछन्। प्रतियोगिताका विघागत उत्कृष्टले जनही नगद ५ हजार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्