कोही छ ट्रम्प ?



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भटाभट आफ्ना चुनावी नारा पूरा गर्न थालेपछि अहिले नेपालमा पनि सनसनी मच्चिन थालेको पाइएको छ। यसो हुनुमा नेपालमा राजनीतिक दल र नेताहरूले चुनावी नारालाई नारामा मात्रै सीमित गर्दै आएकोमा अमेरिकामा भने कार्यान्वयन नै हुनेरहेछ भनेर नेपाली पनि छक्क परेका छन्।

अहिले ट्रम्पले त्यहाँ शरणार्थीलाई आश्रय नदिने आदेश दिनुका साथै यसअघि ओबामाको स्वास्थ्यसम्बन्धी नीतिलाई नै खारेज गरिसकेका छन्। मेक्सिकोको सीमामा पर्खाल लगाउने कुरालाई पनि उनले चुनावअघि जस्तै अहिले पनि दोहोर्याइरहेका छन्। त्यसैले चुनावी नारा चुनावका लागि मात्रै हुन्नन् भन्ने उनले देखाइदिएका छन्।

नेपालमा भने दलहरूले चुनावी घोषणापत्रमा अनेकथोक भन्ने गरेका छन्। तर, ती मुस्किलले पूरा हुन्छन्। त्यसैले नेपाली जनताले अहिले ट्रम्प त राजनीतिक नेता होइनन् कि के हो भनेर प्रश्न पनि गर्न थालेका छन्। हुन पनि उनी राजनीतिक नेता कम व्यापारी बढी हुन्। तथापि अहिले बढी नेता भइदिएका छन्। नेपालमा भने राजनीतिक नेताले बोलेको पूरा गर्दैनन् भन्ने भ्रम व्याप्त छ। त्यो यथार्थमा सत्य पनि हो।

त्यसैले यता पनि जे जस्तै भए पनि बोलेको पूरा गर्ने कोही ट्रम्प भइदिए हुन्थ्यो, आइदिए हुन्थ्यो भन्न थालेको पाइएको छ। धरहरावरपर उनीहरूले यस्तै चर्चा गरिरहेका छन्। नेपालमा पनि कोही ट्रम्पजस्तो राजनीतिक नेता बन्न उम्मेदवार छ कि ? छ भने खुसुक्क यो धरहरालाई जानकारी दिऔं है, अर्को इपीसोडमा धरहराले त्यता पनि आफ्नो दूरविन घुमाउनेछ।

प्रतिक्रिया दिनुहोस्