धुमधामसँग मनाइँदै चिनियाँ नयाँ वर्ष



बेइजिङ, (एजेन्सी)
विश्वभरि रहेका चिनियाँ समुदायले आइतबार आफ्नो नयाँ वर्ष मनाएका छन्। चिनियाँ क्यालेन्डरअनुसार योपटकको नयाँ वर्ष कुखुरा वर्ष परेको छ। चिनियाँ क्यालेन्डरमा १२ वर्षको चक्रमा १२ थरीका जीवलाई प्रतीकका रूपमा लिने गरिन्छ। गत वर्ष उनीहरूको बाँदर वर्ष परेको थियो।

चिनियाँ समुदाय विश्वको जुन ठाउँमा बसेको भए पनि उनीहरूले त्यहाँ कुखुरा वर्षको अवसरमा झाँकीलगायत अन्य थुप्रै रमाइला कार्यक्रमको आयोजना गरिरहेका छन्। चिनियाँ नयाँ वर्षलाई वसन्त ऋतुको आगमनका रूपमा मनाइने उत्सवका रूपमा पनि लिने गरिन्छ।

चीनलगायत विश्वका थुप्रै देशहरू छन् जसले चिनियाँ क्यालेन्डरलाई पछ्याउँछ वा त्यस्ता थुप्रै देशहरू छन् जहाँ ठूलो संख्यामा चिनियाँ आवादी रहेको छ। चिनियाँ क्यालेन्डरअनुसार चल्ने चीनको हङकङ, मकाउलगायत चिनियाँ आवादी धेरै भएका देश सिंगापुर, मलेसिया, थाइल्यान्ड, भियतनाम, क्याम्बोडिया र मौरिससमा यो नयाँ वर्ष धुमधामका साथ मनाइयो।

नयाँ वर्ष मनाउनका लागि चिनियाँहरू सकेसम्म परिवारसँगै बस्न रुचाउँछन्। त्यसैले उनीहरू जहाँ भएपनि सम्भव भएसम्म घरमै जाने गर्छन। नयाँ वर्ष यो समय चीनमा सबैभन्दा धेरैले यात्रा गर्ने बेला पनि हो। नयाँ वर्ष मनाउन लामो छुट्टी पाउने गर्छ। हरेक वर्ष कुनै न कुनै जीवलाई त्यो वर्षभरिको प्रतीक मानेर यो उत्सव मनाउँछ। नयाँ वर्षलाई चिनियाँहरू समृद्धिको कामना, विवाह साइत, पारिवारिक भेटघात, नयाँ कार्यको थालनी गर्ने सबैभन्दा राम्रो साइतका रूपमा लिन्छन्।

सन् २०१५ मा प्रतीक जीवका रूपमा भेडा थियो भने अर्को वर्ष अर्थात् २०१८ मा कुकुर वर्ष हुनेछ। ब्राजिलको साओपाउलो, प्रायः युरोपेली मुलुकका ठूला शहर, अस्ट्रेलियालगायत अमेरिकी शहरहरूमा पनि चिनियाँ नव वर्षे धुमधामका साथ मनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्