नेवार सुन्दरीको फेसन शो



नेवार सुन्दरीहरु प्रतियोगिता अगाडि नै फेसन शोमा उत्रिएका छन्। १२औं मिस नेवाः ११३७ का प्रतियोगीहरुले अटायर शोआन्तर्गत जातीय पहिरन प्रस्तुत गरेका हुन्। प्रतियोगितामा सामेल सुन्दरीहरुले नेवार समुदायका विभिन्न चाड पर्वलाई लक्षित गरेर बनाइएका पहिरनहरु प्रस्तुत गरेका थिए।

नेवार सुन्दरीहरुले इन्द्र जात्रा, गाईजात्रा, दशैं, कुमारी जात्रा, मह पूजासँग सम्बन्धित पहिरनमा आफूलाई प्रस्तुत गरेका थिए। यस्तै योमरी पुन्ही, फागु, बेलविवाह जस्ता विविध पक्ष झल्कने पहिरन पनि उनीहरुले प्रस्तुत गरेका थिए।
‘नेवारको मौलिक चाडपर्व र पहिरन तथा उनीहरुको सांस्कृतिक, सामाजिक र धार्मिक पक्ष झल्कने पहिरनको प्रतिस्पर्धाका लागि अटायर शो गरिएको हो’ –मिस नेवाः को आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले भनिन्।

अटायर शोमा उत्कृष्ट पहिरन प्रस्तुत गर्ने प्रतियोगितले अन्तिम प्रतिस्पर्धामा बेस्ट ड्रेसको अवार्ड जित्ने तथा शोको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने उनले जानकारी गराइन्। अटाएर शोको निर्णायकमा प्राइम बैंकमा उपमहाप्रबन्धक भाइराजा तुलाधर, नमुना कलेज अफ फेसन एन्ड टेक्नोलोजीका उपप्रमुख जिवेश्वरलाल श्रेष्ठ, नेपाल बुटिक एससोसियसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, यूएफओका सचिन श्रेष्ठ, उद्योगी प्रदीपमान प्रधान, मेकअप आर्टिस्ट मन्जु कार्कीलगायत थिए।

मिस नेवाः मा नेवार समुदायका २८ युवती प्रतिस्पर्धीका रूपमा रहेका छन्। प्रतियोगिता आगामि माघ २६ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्