कुलेश्वरमा भयानक आगलागी



दीपक रिजाल, काठमाडौं
कुलेश्वरको मिनी मार्केटमा आइतबार राति आगलागी हुँदा करोडौंको क्षति भएको छ। मिनी मार्केटमा रहेको एउटा होटलमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा होटलमा रहेको ग्यासमा आगो सल्केपछि भीषण रूप लिएको थियो।

घना बस्तीको बीचमा रहेको उक्त मार्केटमा आगलागी शुरू भएपछि सो क्षेत्रमा कोलाहल मच्चिएको थियो। आगलागीसँगै चारवटा ग्यास सिलिन्डर एकसाथ विस्फोटन हुँदा सो क्षेत्रमा रहेको विभिन्न किसिमका १० वटा पसलमा एकसाथ आगलागी भएको थियो।

आगलागी भएको क्षेत्रमा सवारीसाधनमा प्रयोग हुने टायरहरू घरमा प्रयोग हुने कपडाहरू, सवारीसाधनका पार्टपुर्जाहरू तथा ३ वटा होटल अनि रेस्टुरेन्टहरू जलेर नष्ट भएका छन्।

महानगरीय मुख्य घटना सहायक कार्यदलका प्रमुख, प्रहरी नायब उपरीक्षक रमेश थापाले आगलागीबाट करोडौंको क्षति भएको बताउनुभयो। आगलागी नियन्त्रणका लागि जुद्ध बारुण यन्त्र, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १० वटा दमक प्रयोग गरिएको थियो।

आगलागी नियन्त्रणका लागि सुरक्षा निकायलाई झन्डै दुई घण्टा लागेको थियो। आगलागी भएको ठाउँसँगै कृषि सामग्री संस्थानले भण्डारण गरेको रासायनिक मलको गोदामलाई सुरक्षा निकायले सुरक्षित गरेका कारण कुलेश्वर क्षेत्र भयानक दुर्घटनाबाट जोगिएको थियो।

आगलागी नियन्त्रणका लागि राजधानीमा उपलब्ध भएका पानी ट्यांकरलाई कुलेश्वर क्षेत्रमा तैनाथी अवस्थामा रापखिएको थियो। प्रहरीले के कारणले आगलागी भएको हो सो विषयमा छानविन गरिरहेको डीएसपी थापाले बताउनुभयो। आगलगीबाट मानवीय क्षति नभए पनि करोडौंको भौतिक क्षति भएको उहाँले बताउनुभयो।

आगलागी भएको समयमा पूर्णरूपमा कालीमाटी–बल्खु सडकखण्ड अवरुद्ध भएको थियो। क्षतिको विवरण अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्