सेरेनाको कीर्तिमानी उपाधि



मेलबर्न, (एजेन्सी)
सेरेना विलियम्सले आफनै दिदी भेनसलाई सीधा सेटमा हराएर सातौं अस्टे«लियन ओपन जित्नुका साथै ओपन इरामा २३ औं कीर्तिमानी ग्रान्डस्लाम सिंगल्स उपाधि हात पारेकी छिन् ।

शनिबार मेलबर्न पार्कमा भएको फाइनल खेलमा सेरेनाले भेनसलाई ६–४,६–४ ले हराएकी हुन् । यो उपाधिसँगै उनले जर्मनीकी स्टेफी ग्राफलाई पछि पारेकी छिन् । ग्राफले १९६८ देखि ग्रान्डस्लामले प्रोफेसनल खेलाडीलाई स्वीकार गरेयता २२ ग्रान्डस्लाम उपाधि जितेकी थिइन् । ग्राफले संन्यास लिएको वर्ष १९९९ मा सेरेनाले व्यवसायिक टेनिस खेल्न शुरु गरेकी हुन् ।

३५ वर्षीया अमेरिकी खेलाडीले यो उपाधिसँगै आफनो विश्व नम्बर एक स्थान पनि पुन हासिल गरिन् । उनले जर्मनीकी एन्जेलिक केर्बरलाई पुन एकपटक नम्बर एक स्थानबाट तल झारेकी छिन् । महिला सिंगल्समा सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी अस्टे«लियाकी मार्गेरेट कोर्टसँग बराबरी गर्न सेरेना एक ग्रान्डस्लाम उपाधिबाट टाढा छिन् ।

फाइनल जितेकी सेरेनालाई अस्टे«लियन ओपनमा सबैभन्दा पाको उमेरमा फाइनल पुग्ने कीर्तिमान बनाएकी भेनसले बधाई पनि दिइन् । ३६ वर्षीया अमेरिकी खेलाडीले आठ वर्षपछि प्रमुख प्रतियोगितामा फाइनल खेलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्