‘…त्यही चाहिन्छ ’



धरहराले पनि संविधान संशोधनको लागि संशोधन विधेयक संसदमा दर्ता गरिएको देखेको छ । त्यो पास गराउनका लागि संसदमा दुई तिहाई मतको जरुरी हुन्छ । त्यति मत पुगेन भने त्यो असफल हुन्छ ।

असफल हुनु भनेको अहिले संविधानमा जे छ त्यही अनुसार चल्नु हो । पास हुनु भनेको सीमांकनको व्यवस्था लगायतका कुराहरु केही फेरबदल हुनु हो । यति सम्म त धरहराले कुरा बुझेको हो । तर, मधेशवादी दलको हिजो बसेको बैठकले संशोधन पास गराउनका लागि तराईका जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने निर्णय गरेछ ।

हत्तेरिका संशोधन पास गराउनका लागि त आफ्नो विचारले सांसदहरुलाई अनि अन्य दलहरुलाई पो कन्भिन्स गर्ने हो त । फेरि जिल्ला सदरमुकाम पुगेर किन ट्राफिक जाम गर्ने काम गर्न लाग्नुभएको हो महोदयहरुले । यही बिआइसीसी भित्रै गरमागरम बहस गरे भइगो नि ।

धरहरा कुरा नबुझेर हैरान भएको छ भन्या । कुनै युवतीलाई मन पराउने युवकले विवाहका लागि युवतीले नमानेपनि ‘मलाई त्यही केटी चाहिन्छ’ भनेर डाको छोडेर रोए जस्तो भएन र भन्या यो त ? पहिला पनि नाकाबन्दी र के भनेर जनतालाई दुख दिने काम भयो । अहिलेपनि के र के भनेर ती मधेशी जनतालाई दुख नदिने हो कि महाशयहरु ? पुनर्विचार गरौं है । धरहरा वरपर एक हुल मान्छेले माथिका कुरा गर्दै गर्दा धरहराले भने आफ्नो दूरबीन अन्यत्रै मोडनु ठीक ठान्यो ।

प्रतिक्रिया दिनुहोस्