मकवानपुरका क्याम्पसमा चुनावीको चहलपहल बढ्यो



हेटौंडा,(नेस) । ८ वर्षदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते हुने निश्चित भएको छ । त्रिभुवन विश्वविद्यालय सभाले स्ववियु निर्वाचन गर्ने निर्णय गरेसँगै मकवानपुरका विभिन्न क्याम्पसमा चुनावको चहलपहल सुरु भएको हो ।

मकवानपुरमा क्रियाशील विद्यार्थी संगठनले स्ववियु चुनावका लागि तयारी तीव्र बनाउन थालेका छन् । नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी) लगायत विद्यार्थी संगठनले स्ववियु चुनावको लागि तयारी तीव्र बनाइसकेका छन् ।

नेपाल विद्यार्थी संगठन मकवानपुरका उपाध्यक्ष राजु खतिवडाका अनुसार स्ववियुका लागि नेवि संघले प्रचारात्मक कार्य नगरे पनि आन्तरिकरुपमा तयारी गरिरहेको बताउनुभएको छ । उहाँले संगठनका विद्यार्थीहरु स्ववियुका लागि काम गरिरहेको बताउनुभएको छ ।

स्ववियु चुनाव माग गर्दै आएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला अध्यक्ष सन्तोष पौडेलले असल नेतृत्व आवश्यक रहेको औंल्याउनु भएको छ । ‘लामो समयदेखि निर्वाचन हुन नसक्दा विद्यार्थी हकहितका लागि आवाज कमजोर भइरहेको छ’, अध्यक्ष पौडेलले भन्नुभयो–स्ववियु सबै विद्यार्थीको छाता संगठन भएकाले असल र कर्मठ विद्यार्थीले स्ववियु चुनाव जित्नुपर्छ ।

विद्यार्थीहरुको आवाज बुलन्द गर्ने नेतृत्व आवश्यक छ । अनेरास्ववियुले सोहीअनुसार तयारी गरिरहेको उहाँले बताउनुभयो । उहाँले विद्यार्थीहरुको हकहितका लागि अनेरास्ववियु सधैं लागिपर्ने र क्याम्पस तथा विद्यालयमा रचनात्मक कार्यक्रम गर्दै आएकाले निर्वाचनमा अनेरास्ववियुको जित सुनिश्चित रहेको दाबी गर्नुभयो । रचनात्मक तथा सिर्जनात्मक आन्दोलनको आवश्यकता रहेकोले स्ववियु चुनावमा असल विद्यार्थीले जित्ने दाबी उहाँले गर्नुभएको छ ।

अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष पबिना लामाका अनुसार अखिल (क्रान्तिकारी) ले स्ववियुको तयारी तीव्ररुपमा गरिरहेको छ । प्रचारात्मक कार्यतर्फ आफूहरु लाग्ने उहाँले बताउनुभएको छ । उहाँले मकवानपुरका विभिन्न क्याम्पसमा स्ववियु निर्वाचनको तयारी तीव्र बनाइएको बताउनुभयो । विद्यार्थीहरुको लागि स्ववियु चुनावले राम्रो नतिजा दिने उहाँको भनाइ छ ।

संघीय समाजवादी विद्यार्थी फोरम मकवानपुरका अध्यक्ष शुभराज भोम्जनले भने विद्यार्थीहरुको हकहितका लागि हुने स्ववियु निर्वाचन विद्यार्थीभन्दा राजनीतिक शक्ति बढी हावी हुने कुरा गलत भएको बताउनुभएको छ । उहाँले संघीय समाजवादी विद्यार्थी फोरम स्ववियु निर्वाचनमा जानसक्ने तर मोर्चाबन्दीका रुपमा पनि जानसक्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्