माघ ७ पछि माघ ८



आज माघ १५ गतेभित्रमा निर्वाचनसम्बन्धी कानुन तयार पारेर दिइए र चुनाव घोषणा गरिए अर्को सालको माघ ७ गतेभित्र आफूले तीनवटा निर्वाचन गराउन सक्ने निर्वाचन आयोगले बताउँदै आएको कुरा धरहराले पनि सुनेको हो। तर, गफ जतिसुकै गरिए पनि नयाँ संरचनाअनुसार निर्वाचन हुन नसक्ने र पुरानो संरचनाअनुसार नयाँ संविधानअन्तर्गत निर्वाचन गर्ने कुरा पनि झनै हांस्यास्पद हुने कुरा घाम जत्तिकै छर्लङ छ।

अनि अर्को सालको माघ ७ गतेभित्र तीनवटा निर्वाचन नभए के होला? भनेर कोकोहोलो मच्चाउने काम पनि भइरहेको धरहराले देखेको छ। धरहरा वरपर पनि यस्तै विषयमा चर्चा परिचर्चा भइरहेको सुनिएको छ। तर, माघ ७ गतेभित्र निर्वाचन पनि नहुने र त्यसपछि केही हुनेभन्दा पनि माघ ८ गते आउने कुरा मात्रै धरहरालाई थाहा छ। जनतालाई बेकारमा उल्लु बनाउने काम किन दलहरूले गरेका होलान्?

किनकि माघ ७ गतेभित्र चुनाव हुन नसकेपछि सबै दल फस्ने सम्भावना हुन्छ। त्यसैले उनीहरूले संविधान संशोधन गरेर माघ ७ को प्रावधान नै खारेज गरिहाल्छन्। तीन दल मिलेपछि दुई तिहाइ पुगिहाल्छ। अनि बेकारमा किन कोकोहोलो गर्नु? अब कसैले माघ ७ पछि के हुन्छ भनेर सोध्यो भने माघ ८ आउँछ अरू केही हुँदैन भनेर जवाफ दिनुस् है पाठकवृन्द। बेकारमा उल्लु भएर त्रसित नहुनुस्।

प्रतिक्रिया दिनुहोस्