बार्सिलोना सेमिफाइनलमा



लन्डन, (एजेन्सी)
रियल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस किङ्स कप (कोपा डेल रे) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ५–२ को फराकिलो गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा चार गोल भारी बोकायो।

बार्सिलोनाका लागि डेनिस स्वारेजले खेलको १७औं र ८२औं मिनेटमा गरी दुई गोल गरेका थिए। यस्तै लियोनल मेसीले ५५औं मिनेटमा पेनाल्टीमार्फत र खेलको ६३औं मिनेटमा लुइस स्वारेज र ८०औं मिनेटमा अर्दा टुरानले एक–एक गोलको योगदान गरेका थिए।

यता रियल सोसिडाडका विलियन जोजे र हुँवान्मीले एक–एक गोल फर्काए। बिहीबार राति ५–२ ले विजयी भएको बार्सिलोना समग्रमा ६–२ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो। यसअघि पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो।

म्यानचेस्टर फाइनलमा
म्यानचेस्टर युनाइटेड इंग्लिस लिग कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा हल सिटीसँग २–१ ले पराजित भए पनि युनाइटेडले फाइनलमा स्थान पक्का गरेको हो। युनाइटेडले दुई लेगको खेलबाट समग्रमा ३–२ को नतिजा निकाल्न सफल भएको हो। यसअघि भएको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड २–० ले विजयी भएको थियो।

बिहीबार रातिको खेलमा हल सिटीका लागि टम हडलस्टनले खेलको ३५औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए।

पहिलो हाफसम्म एक गोलले अघि रहेको हलविरुद्ध युनाइटेडका पाउल पोग्बाले खेलको ६६औं मिनेटमा बराबरी गोल फर्काए। बराबरीतिर अग्रसर उक्त खेलको ८५औं मिनेटमा नियासेले गोल गरेपछि हल सिटिको जित सम्भव भयो।

म्यानचेस्टर युनाइटेडले अब उपाधिका लागि साउथ≈याम्पटनसँग खेल्नेछ। पहिलो सेमिफाइनलमा लिभरपुललाई स्तब्ध बनाउँदै साउथ≈याम्पटनले फाइनलमा स्थान बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्