जम्दै टंक



रश्मी थापा
केही समययता फिल्मको पाश्र्व गायन तथा संगीतमा जम्दै छन् टंक बुढाथोकी। फिल्म हिम्मतवालीको काली तिम्रो नजरले, हवल्दार सुन्तलीको घण्टी बज्यो मनकोजस्ता चर्चित गीतमा स्वर र संगीत भरेर धेरैको तारिफ बटुलेका उनले जंजीर, आवेग, कान्छी मट्याङ ट्याङ, च्याम्पियनलगायत दर्जनौ फिल्मका गीतहरुमा स्वर र संगीत भरिसकेका छन्। उनको संगीतमा राजेश पायल राई र मेलिना राईले गाएको तिम्ले बाटो फेर्यौ अरे बोलको आधुनिक गीतले पनि निकै चर्चा बटुल्यो। जुन गीत पछि उनले आफ्नै स्वरमा पनि रेकर्ड गराएका छन्। अहिलेसम्म करिब सयभन्दा माथि गीतमा स्वर संगीत दिएको उनी दाबी गर्छन्।

झापा पाँचगाक्षीका उनी छोटो समयमै चर्चा पाउने गायकमध्येमा गनिन्छन्। ‘हुन त म सांगीतिक क्षेत्रमा लागेको २०६४ सालतिर नै हो। पहिलो गीतमा नै मैले शब्द संगीत र स्वर आफैँले भरेको थिएँ। फुलेको राम्रो लालीगुराँस बोलको राष्ट्रिय गीत रेकर्ड गरेर म सांगीतिक क्षेत्रमा प्रवेश गरेको हुँु टंकले भने– ‘त्यो गीत रेकर्ड गर्दा मैले गीतसंगीतका बारेमा धेरै कुराहरु बुझ्न पाएँ। गीत गाउने मात्र होइन, यस क्षेत्रमा आउनका लागि एरेन्जिङ, साउन्ड मिक्सिङ, कम्पोजिसन तथा इन्स्ट्रमेन्टहरुको पनि ज्ञान लिनु राम्रो हुनेरहेछ भन्ने लाग्यो। लगत्तै मैले राजवशीं एल्बममा ७ गीत गरेँ, जुन झापामा निकै चल्यो। त्यसले गर्दा म निकै उत्साहित भएको थिएँ।’

उनी गफिन्छन् ‘सानैदेखि पढाइ राम्रो भएको र सधैं फस्ट हुने भएकाले मेरो वुवाको सपना डाक्टर बनाउने थियो। जसका कारण मलाई एसएलसीपछि काठमाडौंको अमृत साइन्स क्याम्पसमा भर्ना गरीदिनुभएको थियो। वुवा मलाई भेट्न काठमाडौं आउनुभएको बेला मैले गीटारमा संगीत भर्दै आफ्नै शब्द र स्वरमा गीत गाएको देखेर बुवाले खुसी भएर गीत रेकर्ड गरा भनेर १५ हजार रुपियाँ छोडेर जानुभएको थियो। रहर पूरा गर्नका लागि गीत रेकर्ड त गराएँ, तर पछि पनि पढाइभन्दा बढी ध्यान गीतमा दिन थालेपछि आइएस्सी फेल भएछु। यो देखेर वुवाले गाली गर्नुभयो। एकपटक गिटार बजाउन लागेको बेला गिटार खोसेर फुटाउन पनि खोज्नुभयो। त्यसपछि राम्रोसंग पढछु् भनेर काठमाडौं छोडेर बिर्तामोडको कलेजमा साइन्समा भर्ना भएँ। डाक्टर नबने पनि टिचर बनोस् भन्ने उहाँको चाहनाले गर्दा म फेरि पढन थालेको थिएँ। आइएस्सी पास गरेपछि फेरी पढाइलाई नै अगाडि बढाउनका लागि काठमाडौं आएर सेन्ट जेभिएर्स कलेजमा भर्ना भएँ। तर फेरि गीतसंगतिर चासो बढ्यो।’

सानैदेखि रेडियोको राम्रो स्रोता भएको बताउने उनले औपचापरिक रूपमा कुनै गुरुबाट संगीत प्रशिक्षण नलिए पनि गीतसंगीतबारे आधारभूत ज्ञान रेडियोमा बज्ने गीतहरुबाटै लिएको बताए। ‘घरमा दाइ संगीत सिक्नुहुन्थ्यो। घरमै आएर प्राक्टिस गर्नुहुन्थ्यो। अनि सिकेका सारेगमहरु मलाई सुनाउनुहुन्थ्यो। मचाहिँ सानैदेखि रेडियोमा बज्ने गीतहरु राम्रोसँग सुन्थेँ’ –टंकले सुनाए ‘अनि दाइले घरमा गीत गाउँदा यो गीत त यसरी पो गाउने हो भनेर म गाइड गरिदिन्थेँ। दाइसँगै प्राक्टिस गर्न थालेपछि मेरो भ्वाइसमा इम्प्रुभ भएछ। दाइका साथीहरुले पनि मेरो स्वर सुनेर तेरोभन्दा भाइको स्वर राम्रो छ, बरु भाइलाई चाहिँ संगीत सिका भनेपछि दाइले नै मलाई अगाडि बढाउनका लागि आफूले सिक्न छोडर सहयोग गर्नुभयो।’
गीतसंगीतप्रतिको मोह बढ्दै गइरहेका बेला बलिउड फिल्म थ्री इडियट्स हेरेपछि आफूलाई मन पर्ने विधामा मात्र खुसी हुन सकिँदो रहेछ भन्ने सन्देश उनले लिएछन्। ‘त्यसले मलाई गीतसंगीतमै लाग्नुपर्छ भनेर झक्झक्यायो। त्यसैले म सबै छोडेर गीतसंगीतमै लागेँ। अहिले वुवा मेरा गीतहरु टिभीमा हेरेर आँसु झार्नुहुन्छ। मैले गीत निकाल्न ढिला गरेँ भने फोन गरेर अर्को गीत कहिले आउँछ भन्नुहुन्छ।’ टंक दंगिए ‘म कुनै पनि पार्टी तथा पिक्निकमा जाँँदा मानिसहरु हिन्दी गीतमा रमाएर नाचेको देख्थेँ। त्यो देखेर नरमाइलो लाग्थ्यो र मैले नेपाली फिल्ममा पनि यस्तै खालको नचाउने गीत गाउनुपर्छ भन्ने सोचेर नेपाली फिल्म क्षेत्रमा केही नयाँपन ल्याउँछु भनेर फेरि यो क्षेत्रमा फर्किएँ।’

गीतहरु गर्दै जाने क्रममा २०६९ सालमा फिल्म जंजीरको किन गाह्रो गाह्रो हुन्छ बोलको गीतमा स्वर र संगीत दिएपछि त्यसपछिका दिनमा फिल्मका धेरै गीतमा काम गर्न पाएको उनी बताउँछन्। विषेष गरी फिल्म हिम्मतवालीको काली तिम्रो नजरैले बोलको गीतले चिनीएका उनी त्यही गीतको लोकप्रियतासँगै आफ्नो सिर्जना र गायनयात्रा बढेको प्रष्टयाउँछन्। ‘त्यसपछि लगातार धेरै काम पाउन थालेँ। गीत गाउने र संगीत गर्ने मात्र होइन, मिक्सिङ र एरेन्जिङ पनि गरिरहेको छु। जसले गर्दा म सधैं व्यस्त नै भइरहेको छु। यी सबै काम गर्नका लागि आफ्नै स्टुडियो खोलेको छु।’

आफूले संगीत गरेका प्रायः फिल्मका गीतहरुमा आफैं गाउने उनी आफूलाई संगीतकारभन्दा गायक नै भनेर चिनाउन चाहेको बताउँछन्। ‘अहिलेको समयमा हेर्दा कुनै पनि गीत चल्यो भने त्यसमा गायक गायिकाको नाम नै अगाडि आउँछ। जसमा नाम पनि छ र दाम पनि छ। यो फिल्डमा लाग्ने भनेर सबै कुरा छोडेर आइसकेपछि पक्कै पनि व्यवसायिक रूपमा नै लाग्नुपर्छ भन्ने मान्यता लिएर हिँडेको हुनाले मैले आफ्नै स्टुडियो पनि सञ्चालनमा ल्याएको हो’ भन्छन् ‘संगीत त छँदै छ। गायकका रूपमा आउँदा खेरी व्यावसायिक रूपमा पनि स्थापित हुन सकिन्छ। त्यस कारण पनि म आफूलाई गायक भनेर चिनाउन चाहन्छु।’

आफूलाई भर्साटाइल गायक भनेर चिनाउन चाहने टंक पछिल्लो समय महोत्सव र कन्सर्टहरुमा दर्शकहरुलाई नचाउन व्यस्त भएका छन्। कुनै पनि क्षेत्रमा फरक किसिमले स्थापित हुनुपर्ने उनको ठहर छ। ‘कुनै पनि क्षेत्रमा फरक कन्सेप्ट लिएर अगाडि बढे मात्र त्यस क्षेत्रमा व्यवसायिक रूपमै स्थापित हुन सकिन्छ। धेरैले सांगीतिक क्षेत्रमा लागेर जीवन चलाउन गाह्रो छ भनेको सुनिन्छ’ टंकको भनाइ छ ‘तर संगीतमा लाग्नुभनेको फुर्सदको समयमा गीत गाएर बजारमा पठाउनु मात्र होइन। साथै गायनको एकै विधामा सिमित हुनु पनि होइन। समयको मागबमोजिम संगीतमा विभिन्न खालका प्रयोग गर्नुपर्छ। जुन मैले गर्दै आएको पनि छु। मेरो प्रायः डान्सिङ गीतहरु भए पनि म यसैमा मात्र सिमित छैन। आधुनिक पपलगायतका विधाहरुमा मैले स्वर र संगीत दिएको छु। साथै मिक्सिङ एरेन्जिङ पनि गर्छ।’ अभैm धेरै काम गर्नुछ। मसँग अझै पनि २, ३ सय गीतहरु स्टक छन्। अहिलेसम्म रिलिज भएका गीतहरु स्टक गीतहरु नै हुन्।’

उनी गीतसंगीतको क्षेत्रमा आउनुअघि सिकेर मात्र आउन सुझाउँछन्। ‘पहिले त यो क्षेत्रमा आउनका लागि सिकेर मात्र आउनुपर्छ। कसैले तिम्रो स्वर राम्रो छ भनेकै भरमा केही नसोची यसमा लाग्नु व्यवसायिकता नहुन सक्छ। राम्रोसँग टिक्ने गरी काम गर्ने हो भने आफूलाई धेरै कुरामा तयारी गरेर आउनुपर्छ।’ –उनी भन्छन्।

प्रतिक्रिया दिनुहोस्