विलक्षण युवा स्रष्टा रामप्रसाद



मोहन दुवाल
रामप्रसाद ज्ञवालीको उमेर भर्खरै ५० वर्ष पुग्न लागेको देखिन्छ । सङ्कल्प र निरन्तर सिर्जनाका डोबहरू बनाउँदै विलक्षण प्रतिभाका रूपमा नेपाली भाषा–साहित्यमा आफूलाई देखाउन सफल यिनी नेपाली साहित्यका एक युगसचेत सिर्जनशील साहित्यकारका रूपमा चिनाउन सफल छन् । गुल्मीबाट काभ्रे झरेका र काभ्रेमा धेरै वर्षसम्म शिक्षणसेवा पुर्याइसकेका रामप्रसाद ज्ञवाली हालसालको साहित्यिक जगत्मा निकै चर्चित र सक्रिय युवा साहित्यकारका उदाहरण भई चिरपरिचित छन् । काभ्रेको तालढुङ्गाजस्तो अति दुर्गम क्षेत्रसम्म पुगेर शिक्षक भएर सेवा पुर्याइसकेका यिनी पछि ढुङ्खर्कको पार्वती मा.वि.मा निकै वर्ष शिक्षणसेवा गरे ।

त्यसपछि सर्वमंगला मा.वि., पाँचखाल हुँदै शिक्षा सदन मा.वि.मा पनि शिक्षक भई सेवा गरिसकेका एकज इमानदार र बफादार शिक्षक भनी चिनिएका र प्रख्यात छन् उनी । मेरो यिनीसँग जनमतको यात्रामा पनि अनगिन्ती माया साट्न पाएका सन्दर्भहरू बिर्सिनसक्नु छ । सम्पर्क गर्न जानेका, काममा जाँगर चलाउन सिपालु, इमानजमानका पक्का मान्छे रामप्रसाद ज्ञवालीले काभ्रेको माटोमा आफूसक्दो परिश्रमका बूँदहरू खर्चेर काभ्रेले सधैँ सम्झिरहनुपर्ने सेवकका रूपमा आफूलाई स्थापित गरेर गएका हुन् । यिनका थुप्रै चेला–चेलीहरू हाल काभ्रेमा सक्रिय छन् । यस अर्थमा यिनी काभ्रेलीजस्तै मात्र नभएर काभ्रेलाई शिक्षा र साहित्यमा चिनाउन खोज्ने काभ्रेका अन्य चेतनशील युवाहरूभन्दा कमजोर नभएका व्यक्तित्व हुन् भनेर म स्मरण गर्न रुचाइरहेछु ।

रामप्रसाद ज्ञवाली हाल शिक्षा र साहित्य क्षेत्रमा क्रियाशील राष्ट्रका नै सक्रिय युवा साहित्यकार हुन् । उनी सबैमा व्याप्त हुँदै सुपरिचित छन् । यिनी अध्ययनमा तल्लीन, विश्राम मन नपराउने, सधैँ कुद्न पाए रमाउने कर्मशील युवा हुन् । यिनी पिता पं. दुर्गाप्रसाद र माता कुन्तीदेवी ज्ञवालीका छोरा भई वि.सं. २०२४ वैशाख ११ गते गुल्मी, थानपति गा.वि.स.–३ मा जन्मेका हुन् । व्याकरणमा शास्त्री र नेपालीमा विद्यावारिधी उत्तीर्ण गरिसकेका यिनी हाल रत्नराज्य क्याम्पसमा प्राध्यापन गरेर, पाठशाला नेपाल, कोलम्बस कलेज आदिमा पनि प्राध्यापन सेवा पुर्याइसकेका सक्रिय शैक्षिक व्यक्तित्व हुन् । साहित्यको परिभाषा गर्दा यिनी आफ्नो भावना यसरी व्यक्त गर्छन्– ‘जीवन जगत्का दृश्य–अदृश्य यथार्थलाई सूक्ष्म निरीक्षण गरी आत्मसात् गरेपछि विशिष्ट सङ्कटबाट लेखकहरू टाढा भाग्नुहुँदैन । उनी विचार राख्छन्– ‘स्वाभाविक रूपमा स्रष्टा पनि एउटा जिम्मेवार नागरिक भएकोले सङ्कटको बेला ऊ पनि सडकमा ओर्लिनुपर्छ, भलाद्मी भएर कलम चलाएकै भरमा उसको दायित्व पूरा हुँदैन । सच्चा कविको पहिचान हुने बेला पनि सङ्कटपूर्ण दिनहरू नै हुँदा रहेछन् ।’ (एकादेशमाबाट) ।

यस खालको मान्यता र दृष्टि बोकेर साहित्य साधनामा तल्लीन रहँदै आएका यिनको इच्छा भनेको नै सकेसम्म राम्रो गर्ने नसके नराम्रोचाहिँ नगर्ने हो । केही खराब अम्मल आजसम्म सिक्न नपाएका यिनी पढ्ने, लेख्ने, पढाउने र छलफल गर्ने अम्मलबाट निकै प्रभावित छन् । सधैँ हस्याङफस्याङ, सधैँ व्यस्त रही जीवनक्रम गुजार्दै आएका यिनी अभियान साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष रहेर उन्नतशील नेपाली समाजका महासचिव रहेर आफ्ना साहित्यिक भावनाहरू पोख्न पनि सङ्घर्षरत छन् ।

१३ वर्षसम्म माध्यमिक विद्यालयका शिक्षक भई सेवा पुर्याइसकेका यिनी वि.सं. २०५० देखि प्राध्यापन सेवामा कार्यरत छन् । शिक्षणसेवा गर्दै साहित्य लेखनमा सक्रिय भई लागिरहेका ज्ञवाली वर्तमान नेपाली साहित्यका एक सरल, श्रमशील प्रतिभा हुन् भनी मूल्याङ्कन गर्न थालेका छन् । सिर्जनामा र आफ्नो जीवन गुजार्ने काममा निकै व्यस्त यिनी प्रभावशाली समीक्षक, प्रखर वक्ता, सिद्धहस्त महाकाव्यकार र प्रभावशाली कुशल प्राध्यापकका रूपमा प्रख्यात हुनाका साथै उपन्यासकार, बालसाहित्यका लेखक, अनुवादक, साहित्यिक संगठक र सम्पादकका रूपमा पनि प्रख्यात छन् । थुप्रै लेख–रचनाहरू र ग्रन्थ प्रकाशित गराएर आफूलाई परिचित तुल्याइसकेका यिनी ठूला लेखकहरूका बारेमा सुन्न र पढ्न पाउँदा आफूले पनि त्यस्तै बन्न पाए हुन्थ्यो भन्ने इच्छा जागेर लेखनमा लागेको हुँ भन्न रुचाउँछन् । भारतको हरिद्वारबाट प्रकाशित सगरमाथा पत्रिकामा सर्वप्रथम वि.सं. २०४० सालतिर हाम्रो कर्तव्य कविता प्रकाशित गराएर साहित्यिक क्षेत्रमा देखा परेका यिनी स्नातकोत्तर नेपाली विषयमा आफ्नै मौलिक कृति औंसीको फूलहरू (महाकाव्य) शोधग्रन्थ बुझाएर उत्तीर्ण भएका हुन् । नेपाली भाषामा प्रकाशित महाकाव्य विषयमा यिनले त्रि.वि.वि.बाट विद्यावारिधी गरे ।

विवश आँसु नाटकबाट नेपाली जनजीवनको आँसु नाटकमा देखाउन खोज्ने नाटककारका रूपमा सर्वप्रथम पुस्तक लिएर देखा परेका नाटककार, २०४६ सालको जनआन्दोलनको व्याख्या र चर्चा गर्दै लेखिएको उपन्यास परिवर्तनको मोडमाका उपन्यासकार ज्ञवालीको नेपाली जनताका जीवनका घुम्तीहरू, काव्यात्मक अनुभूति औंसीका फूलहरू, पुतली र झुसिल्कीराका मर्मस्पर्शी भावनाहरू पोख्दै एकादेशमा रहेका बाँदरराज्यको चर्चा गर्नसम्म पनि सफल छन् ।

जनमत साहित्यिक मासिकको धेरै वर्षसम्म भाषा सम्पादनमा सहयोग गरेर आफ्नो सम्पादन क्षमता देखाउन सफल यिनले साहित्यिक अभियान मुखपत्रको सम्पादकसम्म रही सेवा पुर्याएका मात्र छैनन्, नेपाली भाषा साहित्यका ऐतिहासिक साहित्यिक मासिक भानुका प्रधानसम्पादक रहेर पनि आफूलाई समर्पित तुल्याइरहेको देखिन्छ । साहित्य, सिर्जना र साहित्यिक यात्रामा रम्न सिपालु यिनी साहित्यिक क्षेत्रका अनन्य यात्री मात्र नभई साहित्यिक क्षेत्रका सफल र सबल साहित्यकारका रूपमा परिचय बनाउँदै आएका एक कर्मशील साहित्यकार पनि हुन् ।

यिनी विचारलाई आधार मानेर साहित्य लेख्ने गर्छन् र आफ्नो जीवन–दर्शनका रूपमा माक्र्सवादलाई आत्मसात् गर्छन् । यिनका साहित्यलेखनमा विचार–दृष्टि प्रगतिशील चिन्तनधाराबाट प्रभावित छन् । यिनका हालसम्म प्रकाशित कविता विधातर्फका काव्य–कृतिहरूमा औंसीका फूलहरू (महाकाव्य–२०५३), पुतली र झुसिल्कीरा (कविता–२०५९), एकादेशमा (खण्डकाव्य–२०६१), असुरग्याँस (कविता–२०६२), छन्द कविताका मधुर तरङ्ग (सिडी तथा क्यासेट–२०६४), शब्दार्थ सौन्दर्य (कविता २०६८), शब्द सौन्दर्यः लय माधुर्य (डिभिडी–२०६८) र हिँडी रहूँ हिँडी रहूँ (यात्राकाव्य) प्रकाशित छन् । उपन्यासमा परिवर्तनको मोडमा (२०५०) र जीवनका घुम्तीहरू (२०५३) प्रकाशन भएको देखिन्छ ।

समालोचना कृतिमा पाश्चात्य साहित्य सिद्धान्तको सरल व्याख्या (२०६३), फुटकर कविताका केही बान्कीहरू (२०६४), तेस्रो आँखाको आलोचना (२०६७), महाकाव्य सिद्धान्त र नेपाली प्रयोग (२०६७), नेपाली महाकाव्यमा वर्गीयता र वर्गद्वन्द्व, कविता समालोचना, खण्डकाव्य समालोना, कथा समालोचना, फरक समालोचना, भूमिका समालोचना, सम्पादकीय तथा अन्य समालोचना, उपन्यास समालोचना, निबन्ध समालोचना, परिचय समालोचना गरी सबै विषय र क्षेत्रका समालोचना वि.सं. २०७० मा एकैचोटि १० वटा समालोचना कृति सार्वजनिकीरण गरेर आफूलाई सक्रिय सर्जकका रूपमा उभ्याएका छन् ।

यिनका सहलेखनमा आख्यानकार पारिजात (२०५८) मा प्रकाशित हुनाका साथै अन्य थुप्रै पुस्तकहरू बालसाहित्यमा पनि प्रकाशित छन् । विवश आँसु र सम्पत्ति नाटक २०४४ र २०५३ मा प्रकाशित भएको देखिन्छ । पाठ्य तथा सन्दर्भ पुस्तकका रूपमा आफैंले र सह–लेखनमा पाँच दर्जन जति पुस्तक प्रकाशित छन् । हृदयचन्द्रसिंह प्रधानको ऐसा में सोचता हुँ को हिन्दीमा नेपाली अनुवाद गरेर यस्तो म सोच्दछु (२०६५) पुस्तक प्रकाशित गरेको पनि देखिन्छ ।

यसै गरी अन्य थुप्रै भाषा साहित्यका ऊर्जाशील साहित्यिक कृतिहरू प्रकाशन गराएर भाषा साहित्यका क्षेत्रमा सक्रिय रहेका रामप्रसाद ज्ञवालीद्वारा फुटकर कविताका केही बान्कीहरूमार्फत केही कविहरूको कृतिगत विम्बहरू समीक्षात्मक ढङ्गले राख्न सफल छन् । यिनका सिर्जनात्मक ऊर्जाशीलता झन्–झन् चुलिँदै जाओस् । यिनका संकल्पमा खोट नलागोस्, उनले लेखेजस्तै यात्रा बढिरहोस्, हिँडी रहूँ हिँडी रहूँ (यात्राकाव्य) मा यिनले लेखेजस्तो यिनी सधैँ गतिशील भई बढ्न सकून् । यिनकै चार पङ्क्ति यिनैलाई समर्पित गरिरहेछु–
जिन्दगानी रहेसम्मन् चाहन्छु म हिँडी रहूँ
विषैला भावना गोडूँ, रोगी सोच गिँडी रहूँ
चाहे बनूँ उचो कौसी, चाहे होचो छिँडी बनूँ
मेरो सङ्कल्प एउटै हो– हिँडी रहूँ हिँडी रहूँ ।

प्रतिक्रिया दिनुहोस्