इतिहास कोर्ने धुनमा सहारा र मनाङ



धन बस्नेत, पोखरा
सहारा क्लबले आयोजनाको १५ वर्ष शनिबार पूरा गर्दै छ। राराबाट शुरू गरेर आहा रारामा आइपुग्दा १५ संस्करण लेखिसकेको छ। १५औं सस्करणको उपाधिका लागि लक्ष्मी हुन्डाई मनाङमस्र्याङ्दी र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्दै छन्। जसले जिते पनि इतिहास लेखिनेछ। आयोजक उपाधि रक्षाका लागि जोडबल गर्नेछ। मनाङमस्र्याङ्दीले भने सर्वाधिक पाँचपटक उपाधिमा आफ्नो लेखाउने उत्कट चाहना राखेको छ।

आहाको संस्करणमा आयोजक र मनाङमस्र्याङ्दीबीचको प्रतिस्पर्धाले १२औं संस्करणको झल्को दिनेछ। यी दुवै टोलीले १२औं सस्करणमा फाइनल प्रतिस्पर्धा गरेका थिए र बाजी आयोजकले मारेको थियो। भनिन्छ नि ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ रे’ त्यही वर्ष खोलो फर्काउँदै उपाधि लेखाएर मोफसलको क्लब पनि अब्बल हुन्छन् भन्ने प्रमाणित गरिसकेको छ। १५औं संस्करणमा सहारा फाइनलमा पुग्नु नै अब्बलताको थप पुष्टि गरेको छ।

शनिबारको फाइनल केही फरक पक्कै हुनेछ। सहाराले दुई नयाँ खेलाडी थप्ने छ। रक्षापंक्ति सम्हाल्ने आफ्नो अफ्रिकन खेलाडी बबी अडान्गोलाई गुमाएको पीडालाई भुल्ने रणनीति गर्नेछ। नेपाल आर्मीसितको सेमिफाइनलमा रातो कार्ड खाँदै बाहिरिएपछि फाइनलमा नयाँ खेलाडी अनुबन्धन गरेर उपाधि रक्षामा कुनै कसर नछोड्ने योजना सहाराले बनाएको छ।

हार क्षम्य हुँदैन। क्षम्य हुन्छ केवल उपाधि विहीन हुँदा। त्यसैले त्यो स्वीकार्न दुवै चाहँदैनन्। मिडफिल्डमा राष्ट्रिय टोलीका हेमन गुरुङ र डिफेन्समा मनबहादुर तामाङ सहाराको जर्सीमा उत्रिनेछन्। कमजोर मिडफिल्डलाई पूर्ति गर्न हेमनको उपस्थितिले सहारालाई अघिल्ला खेलमा भने पक्कै दरिलो बन्नेछ। तामाङको उपस्थितिसँगै यू–१९ का डिफेन्स गौरव बुढाथोकीले मुख्य डिफेन्सको भूमिका निर्वाह गर्नेछन्। यी दुवैले मनाङका स्ट्राइकर ओलावालेलाई रोक्ने दायित्व र जिम्मेवारी रहनेछ। उनको साथमा लक्ष्मण जिसीले डिफेन्समै रहेर मनाङको प्रयासलाई विफल पार्नेछन्।

त्यो त सहारा क्लबमा अधिकांश यू–१९ का खेलाडी छन्। युवा जोसलाई मत्थर पार्ने रणनीति बनाउने योजना मनाङमस्र्याङ्दीले बनाएको छ। मनाङ अधिकांश राष्ट्रिय खेलाडीले भरिएको छ। एकसमय गोल्डकपमै उपस्थिति नहुने तरंग फैलिएको थियो। तर अन्तिम समयमा मात्रै पोखराको मैदानमा देखिएको मनाङले उपाधि उचालेरै गतवर्षको छविलाई दोहोर्याउने सपना साँचेको छ।

डिफेन्स, मिडफिल्ड र स्ट्राइकर मनाङका लागि समान छन्। ओलावाले र अनिल गुरुङले अग्रपंक्ति सम्हाल्ने छन्। रोहित चन्द र विराज महर्जनले एट्याकिङ डिफेन्स खेल्दै सुजल श्रेष्ठलाई बल उपलब्ध गराई गोल गर्ने रणनीतिलाई अझ प्रभावकारी बनाउन घनीभूत सोचमा मनाङ परेको छ। अनिल गुरुङ घरेलु मैदानमा उपाधि उचाल्दै उत्कृष्ट बन्ने लक्ष्यलाई साकार रूप दिन चाहिरहेका छन्। तर त्यसमा उनी चुक्दै आएको यथार्थ हो।

‘टिम सेट उत्कृष्ट छ। राष्ट्रिय खेलाडी छन्। पोखरा हाम्रा लागि होम ग्राउन्ड जस्तै हो’, छिरिङ लोप्साङ गुरुङले भने– ‘त्यसैले खेलमा पहिलो दश मिनेटभित्र स्कोर निकाल्ने गरी खेल्ने छौं।’ मनाङका कप्तान अनील गुरुङले फाइनल खेलका लागि कुनै दबाब नरहेको बताए। उनले भने– ‘प्रेसर खासै छैन। फाइनल हो, फाइनलजस्तो गेम हुन पर्यो। जसले राम्रो खेल्छ उसले जित्छ।’

सहाराका प्रशिक्षक किरण श्रेष्ठले मनाङ बलियो टिम भए पनि जितको रणनीतिका साथ खेल्ने बताए। उनले घरेलु मैदानको फाइदा उठाउन सहारा तयार गरेको जिकिर गरे। ‘राष्ट्रिय खेलाडीले भरिपूर्ण भएकाले केही गाह्रो छ। तर गेम राम्रो हुन्छ भन्ने आशा छ।’ –उनले भने। सहाराका टिमका कप्तान उत्तम गुरुङले उपाधि जित्नेमा विश्वस्त रहेको बताए। उनले भने– ‘जित्छौं भन्ने आश छ। राम्रै हुन्छ भन्ने विश्वास छ।’

प्रतिक्रिया दिनुहोस्