‘म प्रधानमन्त्री हुँदा’ पुस्तक सार्वजनिक



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला गरिएका मुख्य कामको बारेमा लेखिएको पुस्तक ‘म प्रधानमन्त्री हुँदा’ पुस्तक शुक्रबार सार्वजनिक गरिएको छ।

प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओली, पत्रकार विजयकुमार पाण्डे, लेखक दिनेश सत्याल (सौरव) कृष्णमुरारी भण्डारी, एमाले नेता रघुवीर महासेठ, अधिकारवादी चरण प्रसाईं र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले उक्त पुस्तक संयुक्तरूपमा सार्वजनिक गर्नुभएको थियो।

सो कार्यक्रममा अध्यक्ष ओलीलाई देशको राजनेता भएको टिप्पणी पत्रकार तथा लेखकहरूले गरेका थिए। नेपाललाई एकताबद्ध बनाइराख्न अध्यक्ष ओलीले महत्त्वपूर्ण भूमिका खेलेको पनि उनीहरूले बताएका थिए।

सधैं व्यंग्य गरेर हसाउनुहुने अध्यक्ष ओलीले भने शुक्रबार कसैलाई कुनै व्यंग्य नगरी पुस्तकको बारेमा चर्चा गर्नुभएको थियो। उहाँले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय देशको समृद्धिजस्ता कुरामा आफूले प्रश्न उठाउँदै आएको बताउनुभयो।

लेखक सौरवले ओलीले आफ्नो पालामा देशको नेतृत्व कुशल तरिकाले निर्वाह गरेको बताउनुभयो। पत्रकार पाण्डेले ओलीले नेपालको बारेमा उठाएको मुद्दा कसैले पनि फाल्न नसक्ने बताउँदै अहिलेको परिस्थिति जटिल बनेको हुँदा यसबाट मुलुकको निकास दिइने जिम्मेवारी वहन गर्न ओलीलाई आग्रह गर्नुभयो। लेखक भण्डारीले देशलाई संकटको बेला पार लगाएको हुनाले राजनेताका रूपमा ओली परिचित भएको टिप्पणी गर्नुभयो।

‘राजनेता संकटका बेला चिनिन्छ, संकटको परीक्षामा पास भएपछि राजनेता स्थापित हुन्छ’, उहाँले भन्नुभयो– ‘ओली त्यही संकटको बेला स्थापित हुनुभएको राजनेता हुनुहुन्छ।’

अधिकारकर्मी प्रसाईंले २०७४ माघ ७ गतेसम्म ओलीलाई प्रधानमन्त्री दिएको भए परीक्षक नेताका रूपमा चिनिने विचार व्यक्त गर्नुभयो। एमाले केन्द्रीय मुख्यालयले प्रकाशन गरेको उक्त पुस्तक विष्णु रिमाल र शार्दूल भट्टराईले सम्पादन गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्