नाङ्ले पसल र थ्रेसहोल्ड



अहिले दलहरूलाई थ्रेसहोल्ड कतिसम्म राख्ने भन्नेबारेमा चर्चा–परिचर्चा भइरहेको पाइएको छ। राजनीतिक दलको नाङ्ले पसल खोल्यो अनि आफ्ना पत्नी, साली, गर्लफ्रेन्ड तथा ब्वाइफ्रेन्डहरूलाई समानुपातिक कोटामार्फत् सांसद बनायो र जनताको करबापतको तलब–भत्ता खुवायो। क्या फलिफाप ⁄ नैतिकरूपमा यसो गर्न मिल्ने कि नमिल्ने ? जति धेरै दलहरू भए उनीहरूले नेपाल र नेपालीको हित हेर्नेभन्दा पनि आफ्ना नातागोतालाई हेर्ने काम मात्रै गर्दै आएको र त्यसले समग्रमा देश र जनतालाई भार पर्दै आएको अवस्था रहेको छ।

त्यसैले मनपरी खोलिएका पार्टीलाई ठेगान लगाउन पनि थ्रेसहोल्ड राख्नैपर्ने अवस्था आएको छ। त्यो पनि १, २ वा ३ प्रतिशत मात्रैको कुरा होइन १२ वा १५ प्रतिशतसम्म पुर्यायो भने ठीक हुने धरहरा वरपर घाम ताप्न आउने विज्ञहरूको भनाइ रहेको पाइएको छ। अझ उनीहरू त भन्दै थिए– ‘अमेरिकामा जस्तै नेपालमा पनि दुई वटा दल मात्रै भए हुन्छ।’

एउटा प्रजातान्त्रिक विचारधाराको नेतृत्व गर्ने र अर्को वाम विचारधाराको नेतृत्व गर्ने। आफ्नै घरका शाखा सन्तानलाई कार्यभार दिएर च्याउ उम्रिएजस्तै खोलिएका दल भनेका रत्नपार्कमा खोलिएका नाङ्ले पसलभन्दा फरक होइनन्।

धरहरा वरपरको यो थ्रेसहोल्ड चर्चाको बारेमा धरहराले भने थप टिप्पणी गर्नु आवश्यक ठानेन। संसदीय समितिले के गर्दोरहेछ त्यो हेरेर चर्चा गरौंला है पाठकवृन्द।

प्रतिक्रिया दिनुहोस्