हजार दिन भो गैंडा मारिएन



काठमाडौं, (नेस)
दुर्लभ एक सिंगे गैंडाको उपयुक्त बासस्थान मानिएको चितवनमा गैंडाको अवैध चोरी शिकार नभएको आज शुक्रबार १ हजार दिन पुगेको छ।

विगत एक हजार दिनमा चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको अवैध शिकार नभएको दाबी गरिएको छ।

सन् २०११, २०१३, २०१५ र २०१६ मा सुनियोजितरुपमा तस्करहरूले गैंडाको अवैध शिकार नगरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ। यो नतिजालाई सरकारसहित संरक्षण क्षेत्रमा क्रियाशील साझेदार संघ⁄संस्थाले उपलब्धि मानेका छन्।

डेढ वर्षअघिको गणनाअनुसार मुलुकभरका प्राकृतिक वासस्थानमा ६ सय ४५ वटा गैंडा फेला परेका थिए। त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६ सय ५, बर्दियामा २९, शुक्लाफाँटा र पर्सा वन्यजन्तु आरक्षमा क्रमशः ८ र ३ वटा गैंडा भेटिएका थिए।

२०७१ वैशाख १९ गते चितवन निकुञ्ज परिसरमा एउटा गैंडा मृत्त भेटिए पनि त्यसयता चितवनमा गैडाको अवैध शिकार नभएको सो निकुञ्जका प्रवक्ता नुरेन्द्र अर्यालले बताउनुभयो। ‘गत असोज पहिलो साता रौतहटमा घाइते अवस्थामा भेटिएको गैंडा करिब ३ साताको उपचारपछि चितवनमा मरे पनि त्यो गैडा चितवन, पर्सा अथवा अन्यत्रको हो, निक्र्योल भएको छैन’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

नेपाल, भारत र भुटानका ११ वटा ‘पकेट क्षेत्रमा’ एक सिंगे गैंडाको प्राकृतिक बासस्थान र चहल–पहल पहिचान भएको छ। पछिल्लो तथ्यांकअनुसार तीनवटै मुलुकमा यो दुर्लभ जन्तुको संख्या ३ हजार ५ सय ५५ सूचिकृत भएको छ। सन् २०२० भित्र ३ वटै मुलुकले एक सिंगे गैंडाको संख्या ४ हजारको हाराहारीमा पुर्याउने लक्ष्य लिएको विश्व वन्यजन्तु कोषका वरिष्ठ संरक्षण अधिकृत डा. कञ्चन थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्