दरबार हाईस्कुल पुनर्निर्माण हुने



काठमाडौं, (नेस)
मुलुककै जेठो विद्यालय दरबार हाईस्कुल दुई महिनाभित्र पुनर्निर्माण हुने भएको छ। सो विद्यालय चीन सरकारको करिब १ अर्ब रुपियाँ लागतमा निर्माण हुने भएको हो। चिनियाँ टोलीले विद्यालयको बारेमा विस्तृत अध्ययन सम्पन्न गरिसकेको छ। २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त भएको सो विद्यालय निर्माण गर्ने जिम्मा चीन सरकारले लिएको हो।

चीनमा अहिले नयाँवर्ष शुरु भएका कारण विद्यालय फेबु्रअरीदेखि बन्ने भएको छ। ठेकेदार छनोटदेखि सम्पूर्ण जिम्मेवारी चीन सरकारले नै लिएको छ। ‘हामीलाई विद्यालय पूर्णरूपमा तयारी भएपछि चिनियाँ पक्षले साँचो हस्तान्तरण मात्र गर्नेछ।’ –शिक्षा मन्त्रालयअन्तर्गत गठित केन्द्रीय आयोजना कार्यान्वयन इकाइका कार्यकारी निर्देशक इमनारायण श्रेष्ठले भन्नुभयो।

उहाँले सम्पूर्ण जिम्मेवारी चीन सरकारको नै रहने भएकाले नेपाल सरकारले फाइनल ड्रइङ डिजाइन स्वीकृत गरेपछि काम शुरु गर्ने बताउनुभयो। चीन सरकारको उच्चस्तरीय टोलीले विद्यालयको प्रारम्भिक सर्भे सम्पन्न गरी निर्माण चरणको काम अघि बढाइसकेको श्रेष्ठले बताउनुभयो।

पुरानै शैलीमा निर्माण हुन लागेको दरबार हाईस्कुल शिक्षा इतिहासको पहिलो विद्यालय हो। पुरातत्त्व विभागको सहमतिमा विद्यालयको अवस्था, पुरातात्त्विक समग्रीको अध्यनन गरेको हो।

विभागले स्वीकृत दिएपछि मात्रै पुरातात्त्विक सम्पदा पुनर्निर्माण गर्न पाइने व्यवस्था छ। सम्पदाको स्वरूप, पुरातात्त्विक र सांस्कृतिक क्षति नहुने गरी पुनर्निर्माण गर्न मिल्ने विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो।

उहाँले इतिहास बोकेको दरबार स्कुलको पुनर्निर्माण गर्ने विषयमा चीन सरकार सहमत भएपछि सम्झौता गरी निर्माणकार्य अघि बढ्न लागेको जानकारी दिनुभयो।

दरबार स्कुलको एउटै भवनमा भानु माध्यमिक विद्यालय (दरबार हाईस्कुल) र संस्कृत मावि सञ्चालन हुँदै आएका छन्। भूकम्पले ध्वस्त भएको करिब एक महिनापछि नेकपा माओवादी केन्द्र काठमाडौंका जिल्ला अध्यक्ष हिमाल शर्माको नेतृत्वमा टहरा बनाइएको थियो।

शिक्षा मन्त्रालयले सो विद्यालयलाई शिक्षाको संग्रहालय बनाउने योजना अघि सारेको थियो तर स्थानीय र शिक्षासँग सरोकार राख्ने अन्यले विरोध जनाएपछि दरबार हाईस्कुल जस्ताको तस्तै बन्न लागेको हो।

वि.सं. १९१० सालमा स्थापित विद्यालय शुरूमा निःशुल्क पढाइन्थ्यो। २०३० को राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि जिल्ला शिक्षा कार्यलयअन्तर्गत सञ्चालन हुँदै आएको सो विद्यालय राणा प्रधानमन्त्री वीरशमशेरले राणा परिवारका छोराछोरीलाई मात्रै पढाउन स्थापना गरेका थिए।

वि.सं. १९९० सालको भूकम्पले क्षति पुर्याएको सो विद्यालय जीर्ण बन्दै गएको थियो। भूकम्पले ध्वस्त भएपछि दुवै विद्यालय टहरामा सञ्चालन हुँदै आएका छन्। चीन सरकारले दरबार स्कुललगायत भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा र काभ्रे जिल्लाका ७ वटा विद्यालय निर्माण गर्ने भएको छ।

चीन सरकारले भूकम्पअघि हिमाली क्षेत्रका ७ विद्यालय निर्माण गर्ने सम्झौता गरेअनुसार हालम्म ३ र भूकम्पपछि १० वटा विद्यालय पुनर्निर्माण गर्ने जनाएकोमा हालसम्म दरबार हाइस्कुल, सिन्धुपाल्चोक र लम्जुङको गरी ३ वटा विद्यालयको मात्रै काम थाल्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्