हेटौंडामा एयरपोर्ट निर्माणको तयारी



हेटौंडा, (नेस)
मकवानपुरको हेटौंडा–१४, पदमपोखरीमा एयरपोर्ट निर्माणको तयारी थालिएको छ। एयरपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न मन्त्रीसहित बिहीबार नागरिक उड्डयन प्राधिकरणको टोलीले स्थानीयसँग छलफल गरेको हो।

नेपाली कांग्रेस मकवानपुरका सभापति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँसहित प्राधिकरण टोलीले स्थलगत अवलोकन गरी स्थानीयसँग थप छलफल गरेको छ।

जाडोमा सिमरा र भरतपुर एयरपोर्टमा हुस्सुका कारण उडान नहुने भएकाले बैकल्पिक र विपद्का समयमा उद्धारका लागि आकस्मिक एयरपोर्टका रूपमा हेटौंडामा निर्माण गर्न लागिएको राज्यमन्त्री बानियाँले बताउनुभयो।

‘मकवानपुरमा रेलमार्गको सम्भाव्यता रहेको, वीरगन्ज भन्सार, आधा दर्जन सडक सञ्जाल, बस्ती विकास र औद्योगिक क्षेत्रलगायत संरचनाका कारण देशलाई नै हेटौंडामा एयरपोर्टको खाँचो छ,’ –उहाँले भन्नुभयो, ‘स्थानीयको साथ लिएर पदमपोखरीमा एयरपोर्ट बनाउने अठोट छ। र, बन्छ।’

छलफलमा स्थानीयले देशको केन्द्रमा रहेको मकवानपुरमा पूर्वपश्चिम राजमार्ग, कान्ति लोकपथ, धरान–चतराजस्ता ठूला सडक सञ्जाल रहेको र दुईवटा औद्योगिक क्षेत्र रहेकाले एयरपोर्टको आवश्यकता रहेको बताएका थिए।
प्राविधिक टोलीले एयरपोर्टको १.५ किलोमिटर रनवे र २ हजार ५ सय मिटर चौडाइ रहने बताएको छ। काठमाडौंको विमान डाइभर्ट गर्न कम्तिमा ४ किलोमिटर रनवे आवश्यक पर्ने जानकारी गराइएको थियो। एयरपोर्टका लागि ७५ करोडदेखि १ अर्ब रुपियाँ खर्च लाग्ने प्राविधिक टोलीको भनाइ छ।

छलफलमा मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य, नागरिक उड्डयन मन्त्रालयका नायब महाप्रबन्धक राजकुमार क्षेत्री, प्रमुख इन्जिनियर धु्रव बछिवयाले एयरपोर्टको सम्भाव्यताबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मादुवाडी, स्थानीय विकास अधिकारी नारायण मैनाली, मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक वसन्तकुमार लामा, नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामा, हेटौंडा नगर सभापति आनन्दराम पराजुलीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्