फुलबारी आर्थर राम्जा सडक कालोपत्र हुने, डिमुवा जोड्दै



दुर्गाप्रसाद शर्मा
पर्वत, १३ माघ ।
स्याङ्गजाको फुलबारी देखि पर्वतको आर्थरहुँदै राम्जा जाने फुलबारी–आर्थर–राम्जा सडक कालोपत्रे हुने भएको छ ।
सिद्धार्थ राजमार्ग र पोखरा बागलुङ्ग राजमार्गलाई जोड्ने गरी पर्यटकीय सडक फुलबारी– आर्थर – राम्जा सडक बहुबर्षे ठेक्का प्रकृया मार्फत कालोपत्रे हुन लागेको हो । यो सडक स्याङ्गजाको बिचारीचौतारा गाबिसको फुलबारी देखि शुरु भएको पर्वतको आर्थर, डाडाँखर्क, राम्जाको राँपु, ठाँटी हुँदै डिमुवा जोडिने छ ।

सडक डिभीजन कार्यालय बागलुङ्गले दिएको जानकारी अनुसार उक्त सडक कालोपत्रे गर्नका लागि अर्थ मन्त्रालयले बहुबर्षे ठेक्काका लागि स्विकृति दिएका कारण काम अघि बढेको हो। मन्त्रालयले ६४ करोड रुपैया बहुबर्षे ठेक्काका लागि स्विकृति दिएको छ । अहिले डिभीजनले डिटेल सर्भेको काम गरिरहेको र एक महिना भित्रै टेण्डर प्रकृया शुरु गर्ने डिभीजन प्रमुख स्थानेश्वर खत्रीले जानकारी दिए ।

‘यस बर्ष भित्रै टेण्डर प्रकृया सकेर निर्माणको काम शुरु गर्छौ’ उनले भने ‘यस बर्ष शुरुवात गर्न सके दुई बर्ष भित्रमा राम्जा सम्म जोड्न सकिन्छ’ यो सडक करिब २२ किलोमिटर लामो हुनेछ ।

सडक कालोपत्रेका लागि पर्वतको आर्थर बगालथोक स्थायी घर भएका नेकपा माओबादीका केन्द्रिय सदस्य तथा अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस बिज्ञ त्रिभुवन पौडेलले पहल गरेका हुन। उनकै पहलमा अर्थमन्त्रालयले ६४ करोड को बहुबर्षे ठेक्कालाई स्विकृति दिएको हो । ‘आफ्नो जन्मभूमि सम्म पुग्ने सडक कालोपत्रे गर्नका लागि मन्त्रालयबाट पहल गरेको हुँ’ उनले भने ‘यसले त्यस क्षेत्रको पर्यटकीय बिकासमा महत्वपुर्ण योगदान पु¥याउनेछ’ पर्वतको प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे पुग्नका लागि र श्रवणुकमार मन्दिर पुग्नका लागि यो सडकले महत्वपुर्ण भूमिका खेल्नेछ ।

यसैगरी सिद्धार्थ राजमार्गलाई पोखरा बागलुङ्ग राजमार्ग संग जोड्ने भएकाले बैकल्पिक मार्गको समेत काम गर्नेछ ।
यसैगरी उक्त सडकमा नै पर्ने पर्वतको डिमुवा देखि राम्जा जोड्न डिमुवा–राम्जा सडकमा यस पटक ७ किलोमिटर पक्की गर्ने काम शुरु भएको छ । यस पटक टेण्डरको ८ किमी सडक कालोपत्रे गर्न १० करोड ३९ लाख रुपैया खर्च लाग्ने छ । सडक साढे पाँच किलोमिटर चौडा हुने र घुम्तीहरुमा ७ मिटर सम्म चौडा हुने डिभीजनका प्रबत्ता इन्द्रबहादुर रानाले बताए । फुलबारी –आर्थर –राम्जा र डिमुवा– राम्जा–चित्रे सडक राम्जामा जोडिनेछन ।

डिमुवा राम्जा सडक कालोपत्रे गर्न जिल्ला बिकास समितिका तत्कालिन सभापति एबम नेकपा(एमाले)का पोलिटब्युरो सदस्य गणेश तिमिल्सीनाले पहल गरेका हुन। सडक कालोपत्रे भएपछि पर्यटकीय स्थल पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटक तथा होमस्टे सञ्चालन भएको चित्रे पुग्नलाई सहज हुनेछ । यसले त्यस क्षेत्रको आर्थिक तथा पर्यटन क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउने पोलिटब्युरो सदस्य तिमिल्सीनाले बताए ।

यस्तै डिमुवा –राम्जा सडकमा पर्ने रतीखोलामा पनि पक्की मोटरेबल पुल निर्माणको काम पनि शुरु भएको छ । रतिखोलामा निर्माण हुने उक्त मोटरेबल पुल ७० मिटर लामो तथा ६ मिटर चौडा हुनेछ । मुल्यअभिबृद्धि कर बाहेक ८ करोड ४ लाख रुपैयाको लागतमा पुल निर्माण कार्य सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्