चीन र भारत जोड्ने छोटो बाटोः चाँडा् बनाउ भन्छन् जनता



लामाबगर हुँदै लप्ची हिँडेका स्थानीय ।

चिरञ्जीवी मास्के
दोलखा

चीनको तिब्बतसँग जोडिएको नेपालको पुरानो नाका लामाबगर सुचारु भइदिए हुन्थ्यो भन्ने आकांक्षा स्थानीय बासिन्दाले राख्दै आएका छन् । सिन्धुपाल्चोकको तातोपानी नाकाभन्दा पुरानो लामाबगरको ङ्याङ्लुङ नाका चीन र भारत जोड्ने छोटो र भरपर्दो नाकासमेत भएको पूर्वसांसद जितवीर लामा बताउनुहुन्छ ।

तिब्बतको सीमा लामाबगरको ङ्याङ्लुङदेखि काठमाडौंसम्म २ सय किलोमिटर र भारतको सीमाना भिट्टामोडसम्म २ सय ५० किलोमिटर रहेको छ । २०२२ सालसम्म निक्कै चल्तीको यो नाका सडक निर्माण भएर तातोपानी नाका सञ्चालन भएपछि सुस्ताएको लामाको भनाइ छ । दोलखा सदरमुकाम चरिकोटबाट सिंगटी हुँदै लामाबगरसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरेको सडक छ । माथिल्लो तामाकोशीको बाँधस्थल लामाबगरबाट तिब्बत र नेपालको सीमाना लामाबगरको ङ्याङ्लुङसम्म पुग्न करिब १२ किलोमिटरमात्र सडक निर्माण गरे पुग्छ ।

सडक विभागले सीमानासम्म पुग्ने सडक निर्माणका लागि ७ वर्षदेखि हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको तर कठिन भीरका कारण काम हुन नसकेको कार्यालयले जनाएको छ । उक्त सडकका लागि ७ वर्षमा २० करोडभन्दा बढी रकम फ्रिज भइसकेको डिभिजन सडक कार्यालय चरिकोटका प्रवक्ता इन्जिनियर कृष्णकुमार महतोले बताउनुभयो । प्रवक्ता महतोले तामाकोशी बाँधभन्दा केही पर ९ सय मिटर सडकको ट्र्याक खुलिसकेको र ६ किलोमिटरका लागि केही दिनमै टेन्डर खुल्न लागेको बताउनुभयो ।

माथिल्लो तामाकोशी आयोजना पूरा हुनुभन्दा अघि सडक तयार नगरे त्यसभन्दा माथि रहेको लप्चीमा आउ–जाउ गर्ने बाटोसमेत बन्द हुने भएकाले स्थानीयले सडक निर्माणका लागि सरकारसँग आग्रह गर्दै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दहालले केही समयअघि माथिल्लो तामाकोशी आयोजनाको स्थलगत भ्रमण गर्नुहुँदा पनि लप्चीबासीले सडक निर्माणका लागि ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री दहालले तत्कालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तमाङलाई सडक खुलाउन आवश्यक पहल गर्न निर्देशनसमेत दिनुभएको थियो ।

चीनको तिब्बतसम्म सडक जोड्न बाँकी रहेको १२ किलोमिटर सडक निर्माणको लागि तामाकोशीको बाँध क्षेत्रमा ९ सय मिटर लामो सी आकारको सुरुङ निर्माण गर्न ३ वर्षअघि नै डिजाइन भएको थियो । सडक विभागकै अनुरोधमा माथिल्लो तामाकोशी आयोजनाले चिनियाँ ठेकेदार र नर्वे तथा जर्मनीका कन्सल्टेन्ट नरकन्सल्ट/ल्या≈मेरलेमार्फत् विस्तृत अध्ययन गरी प्रतिवेदन सडक विभागलाई बुझाइ सकेको छ ।

तिब्बतको टिङ्गी शहरबाट तातोपानीभन्दा दोलखाको लामाबगर नाका आउन ७१ किलोमिटर नजिक रहेको विज्ञहरूले बताएका छन् । भूगोलको दृष्टिले पनि हाल सञ्चालनमा रहेको केरुङ र तातोपानी नाकाभन्दा लामाबगर नाकाको सडक सुरक्षित रहेको प्राविधिकहरू बताउँछन् । भारतीय नाकाबन्दीपछि सरकारले चीन सरकारसँग उत्तरका थप ६ वटा नाका खोल्न २०७२ असोज २७ गते गरेको समझदारीमा दोलखाको लामाबगर नाका पनि समावेश रहेको छ । सुरक्षित, छोटो र परम्परादेखि चल्तीमा रहेको लामाबगर नाका खोलेर चीन, नेपाल र भारतबीच त्रिदेशीय व्यापारलाई समेत सहज गर्न सकिने विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्