सरकारी वकिल पछि हटे आज लिखित सहमति



काठमाडौं, (नेस)
उच्च अदालतमा गरिएको न्यायाधीश नियुक्तिमा असन्तुष्टि जनाउँदै विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका सरकारी वकिल र न्यायपरिषद्बीच समस्यालाई सम्बोधन गर्ने मौखिक सहमति भएको छ।

सो सहमतिमा भएको विषयलाई आज बुधबार लिखितरूपमा ल्याउने सम्भावना बढेको बताइएको छ। महान्यायाधिवक्ता कार्यालयअन्तर्गतको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गजराज घिमिरेले न्यायपरिषद्का सदस्य तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायक र असन्तुष्ट पक्षबीच भएको छलफलमा मौखिकमात्र सहमति भएको नेपाल समाचारपत्रसँगको कुराकानीमा जानकारी दिनुभयो। सो सहमति आज बुधबार लिखितरूपमा आउनसक्ने उहाँले बताउनुभयो। न्यायपरिषद्बाट आफ्नो गल्ती स्वीकार गरी लिखित वक्तव्य आएमा आफ्नो आन्दोलन फिर्ता हुने घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्