डेटिङमाथि भिडियो



टु ड्रप्स ब्यान्डको डेटिङ जाउँन गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
राजधानीका विभिन्न स्थानमा छायांकन गरिएको डेटिङ जाउँनमा उद्धब भट्टराई र अनीता चन्दले अनस्क्रिन रोमान्स गरको छन्। उनीहरुका साथ म्युजिक भिडियोमा बाल कलाकार ओम भट्टराईलाई पनि देख्न सकिन्छ। सुरज दाहालको शब्द रहेको यो गीत विवेक लामाको स्वरमा सजिएर आएको छ। प्रसन्न रिमालको संगीत र निर्देशन रहेको गीतलाई जयकुमार दर्लामी मगरले छायांकन गरेका हुन्। ‘गीत पछिल्लो पुस्तालाई लक्षित गरेर तयार पारिएको हो’ –प्रशन्नको दाबी छ।
अमूर्त शैलीको इनर स्पेस
युवा कलाकार नवीन थापा मगर ‘चोची’ ले मानव अन्तरहृदयका विषयलाई ज्यामितीय तथा अमूर्त शैलीमार्फत् तयार पारेको एकल कला प्रदर्शनी इनर स्पेस नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ। प्रदर्शनीका कलाकृतिमा थापा मगरले मानवमा अन्तरनिहित ज्ञान र अस्तित्वलाई कलात्मकरूपमा प्रस्तुत गरेका छन्।
रहस्यवाद, अस्तित्ववाद, संसारिक अवस्था, ज्ञानको खोजी आदि विषयमा आफूलाई केन्द्रित गर्दै उनले चित्र रचना गरेका छन्। कलाले मानवीय अन्तरहृदयलाई प्रस्तुत गर्न सघाउ पुर्याउने चर्चा गर्दै मगर भन्छन्– ‘चित्रमा रङ, रेखा र त्यसको उचित संयोजनबाट दर्शकको भावलाई अभिव्यक्ति गर्न खोजेको छु। साथै चित्रमार्फत् मैले मानिसको अन्तरस्वरूपलाई वैज्ञानिक ढंबाट प्रस्तुत गर्न खोजेको छु।’

ओशोका अनुयायी उनले चित्रमा ध्यान र त्यसको प्रभावलाई देखाएका छन्। चित्रमा कतै आर्यअष्टा·िक मार्ग देखाइरहेका छन् भने कतै महर्षि योगीको भावातित ध्यान रूपलाई देखाएका छन्। उनी ओशो पढेपछि चित्रकलामा लागेका हुन्। प्रेम, ध्यान, स्वतन्त्रता, स्वाधीनता र व्यक्तिवादिताको सिद्धान्तलाई पनि चित्रकलामा समाविष्ट गर्ने विषय पनि उनले ओशोबाट नै प्राप्त गरेको बताए।
प्रदर्शनीमा उनले आफ्नो मनोभावलाई समाज र मानव जातिको वस्तुस्थितिसँग तुलना गर्दै बनाएका चित्र राखेका छन्। अमूर्त र ज्यामितीय शैलीका उनका चित्रमा रङ र प्रस्तुतिमा अझ ध्यान दिँदै चित्र बनाउँदै जान सके त्यसको सशक्त प्रभाव नेपाली कलामा पर्ने विश्वास लिन सकिन्छ। प्रदर्शनीमा राखिएका चित्रको मूल्य २५ हजारदेखि १ लाख रुपियाँसम्म राखिएको छ। आत्मविश्वासका साथ तयार पारिएका उनका चित्रमा रङ र विषय उठानमा भने स्वतःस्फुर्तपन देखिन्छ।

प्रतिक्रिया दिनुहोस्