शोभाको स्वरमा कृष्णहरिको शंका



रश्मी थापा

एउटा एल्बम बजारमा आउँछ, त्यसका गीतहरू चल्न पनि सक्छन्। नचल्न पनि सक्छन्। तर त्यो एल्बम तयार गर्दाका कतिपय संयोग रोचक र स्मरण हुन्छन्।

गीतकार डा. कृष्णहरि बरालको एकल शब्द रचना र उनका संगीतकार ज्वाइँ गैरे सुरेशको एकल संगीतमा नवगायिका शोभा पाण्डेको एकल गीति अडियो एल्बम शंकामा पनि यस्ता थुप्रै रोचक संयोग छन्।

विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको एल्बममा मैलाई माया गर्ने भए मेरो यो भनाइ छ, मेरै चरित्रमा शंका गर्ने तिमी को ?, मन मान्दैन, नदेख्नुपथ्र्यो त्यो रूप गरी कुल ५ गीत र ५ वटै गीतका ट्र्याकसमेत छन्। गायिका पाण्डेले करिब ४ वर्षअघि स्पन्दन राईको शब्द संगीतमा अब त यी बात फेरिदेऊ प्रिया बोलको युगल गीत रेकर्ड गराएकी थिइन् भने विम्ब एल्बममा कृष्णहरि बरालको शब्दमा रहेको गीत यस्तो मान्छे फेला परोस् गाएकी थिइन्। जुन शंका एल्बममा पनि समावेश छ। उनले आफ्नो र अरूको एल्बममा गरी ९ वटा गीत गजल गाइसकेकी छिन्।

शंका एल्बममा भएका गीतहरूले नयाँ इस्यु उठाएको र यसमा समावेश गीतहरूमा प्रतीकात्मक शब्दहरू भएको डा. बरालले बताए। ‘यो गीत मैले उनलाई नै हेरेर लेखेको हो। त्यो कसरी भने विशेष गरी अविवाहित नारीलाई समाजले हेर्ने दृष्टिकोण र त्यसको विरुद्धमा उसले उठाउने आवाजहरू भिन्न हुन्छ’, डा. बराल भन्छन्– ‘मैले उनलाई त्यसको प्रतीक बनाएरै यो गीत लेखेको हुँ। केही वर्षअघि म रूपन्देही गएको बेला शोभासँग एक कार्यक्रममा भेट भयो।

त्यो समय उनी रेडियो देवदहमा गीतसंगीतसम्बन्धी कार्यक्रम चलाउँथिन्। त्यसमा मैले लेखेका गीतहरू बजाउने गरेकी रहिछन्। पछि काठमाडौं आइन् र तीजको गीत गाउनुपर्यो भनेर सल्लाह मागिन्। मैले आफ्नै लगानीमा गीत निकाल्ने भए किन १० दिनका लागि पैसा खर्च गर्ने? बरु आधुनिक एल्बम नै गरे हुन्छ भनेर सल्लाह दिएँ र एल्बम तयार गरियो।’ विभिन्न गायकगायिकाको भविष्य राम्रो देखेका उनले शोभाको भने वर्तमान नै राम्रो देखेका कारण उनीसँग काम गरेको बराल बताउँछन्। ‘उनी सिकेर आएकी गायिका हुन्। रोमान्टिक र स्याड दुवै प्रकारको गीतहरूमा उनको भ्वाइस सुट गरेको छ। यस क्षेत्रमा कति दिन लाग्ने हो, यो कुरा त उनमै भर पर्छ। तर यदि निरन्तरता दिएको खण्डमा भने उनले नेपाली गीतसंगीतको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाउने कुरामा म विश्वस्त छु –बराल भन्छन्।

रूपन्देही देवदहकी शोभाले ३ वर्षको संगीत प्रशिक्षणपछि मात्र आफ्नो एल्बम लिएर आएकी हुन्। उनले चण्डी काफ्ले, कर्णराज कार्की, मनोज सेवालगायतका संगीत गुरुहरूबाट संगीत सिकेको बताइन्। ‘नसिकी गाउनुभन्दा सिकेर गाउँदा संगीतलाई क्वालिटी दिन सकिन्छ’ –उनले भनिन्। पढाइको सिलसिलामा काठमाडौं आएपछि मात्र संगीत सिक्न थालेकी उनी प्रतियोगिताहरूमा भाग नलिए पनि सानैदेखि स्कुलको कार्यक्रमहरूमा गीत गाउने गरेको बताउँछिन्।

रहरले संगीतमा लागेकी उनी संगीतसँगसँगै पढाइलाई पनि निरन्तरता दिइरहेकी छिन्। ‘अहिलेको समयमा यही क्षेत्रमै लागेर मात्र जीवन चलाउँछु भन्ने अवस्था छैन। त्यसैले पढाइपछि अन्य पेसा सँगसँगै गीतसंगीतको यात्रा पनि अगाडि बढाउन चाहन्छु, रत्नराज्य क्याम्पसबाट बिम्युज गर्दै गरेकी उनले भनिन्– ‘गीत गाउँदा र संगीत साधना गर्दा निकै ठूलो प्राप्ति महसुस हुन्छ।’

शुरूमा आफू यो क्षेत्रमा आउँदा घरमा मन नपराए पनि अहिले भने राम्रो सपोर्ट पाइरहेको उनी बताउँछिन्। ‘पहिले मैले गाएको गीत सुनेर यो मेरो छोरीले गाएको गीत भनेर बुबा ममी अरूलाई सुनाउनुहुन्थ्यो। तर मेरो छोरी संगीत नै सिक्दै छ र यहि करिअर बनाउँदै छ भनेर भन्न चाहनुहुँदैन थियो। तर अहिले त्यस्तो छैन’ –उनले सुनाइन्।

प्रतिक्रिया दिनुहोस्