मृगौलापीडितलाई सहयोग गर्ने सरकारी नीति कागजमै सीमित



जाजरकोट, (नस)
आर्थिक अभावमा जाजरकोटका एक बालकले मृगौला प्रत्यारोपण गर्न सकेका छैनन्। भेरीमालिका नपा–१३ का १३ वर्षीय सागर रोकाया दुवै मृगौला फेल भएर सरकारी अस्पतालमा पुगेर औषधि उपचार नपाएर छटपटाइरहेका छन्। सरकारले नागरिकलाई दिने भनिएको सर्वसुलभ स्वास्थ्य सेवाको नीति उनका लागि कागजमै सीमित भएको छ। दिव्य विद्या सदन कोहपुरमा कक्षा ८ मा पढ्ने १३ वर्षीय सागर रोकाय समस्यामा परेका हुन्।

सरकारको निःशुल्क औषधि उपचारको निर्णय सुनेपछि छोराको निःशुल्क औषधि उपचारका लागि प्रधानमन्त्री कार्यालयमा आवश्यक कागजातसहित फाइल पेस गरेको पनि महिनौं बितिसक्दा फाइलको कुनै वास्ता नगरेको रोकायाले बताए। अझै कहाँबाट निःशुल्क उपचार पाइने हो होइन केही थाहा नभएको उनले बताए। सर्वसाधारण नागरिकका लागि सरकारले पनि शुल्क उपचारका घोषणा गरे पनि कागजमै सीमित रहेको रोकायाको भनाइ छ। प्रक्रिया पुर्याएर निःशुल्क औषधि उपचार पाउने आशा थियो रोकायाको तर महिनौं बितिसक्दा पनि छोराको निःशुल्क उपचारको आशा आशामै सीमित भएको छ।

काठमाडौंको सरकारी अस्पताल गंगालाल हृदय रोग निवारण केन्द्र, कान्ति बाल अस्पतालमा लगेर पनि बिरामीलाई राम्रोसँग नहेरिदिएको बुबा प्रताप रोकायाले बताए। छोरालाई राम्रोसँग नहेरेकाले आफूलाई नेपालको नागरिक नभएको महसुस रोकायको छ। ‘दुवै मृगौला फेल भएका छोरालाई लिएर गए’, उनले भने– ‘नेपालका सरकारी अस्पतालहरूमा ठूलाबडालाई मात्र सेवा दिने गरेकाले गरिब नागरिकका बिरामीहरू अस्पलात परिसरबाट फर्किनुपर्ने अवस्था रहेछ।’

केही समय पहिला पाटन अस्पतालमा लिएर भर्ना गरी दश दिनसम्म राखेको र त्यहाँबाट पनि रिफर गरिदिएकाले त्यसपछि किष्ट अस्पतालमा २० दिन आईसीयूमा राखी उपचार गराएको उनको भनाइ छ। अहिले प्राइभेटमा औषधि उपचार तथा डायलासिस भएको र एकपटक डायलासिस गरेको १५ हजारदेखि २० हजारसम्म खर्च लाग्ने गरेको उनको भनाइ छ। बिरामीलाई चाहिने रगत र औषधिको १ हजारदेखि १५ सयसम्म खर्च भइरहेको छ। अहिलेसम्म छोराको औषधि उपचारका लागि जम्मा गरिएको ३ लाख ५० हजार रुपियाँ सकिएको रोकायाले बताए।

प्रतिक्रिया दिनुहोस्